६ कार्तिक २०८१, मंगलवार

विकासको सिन्को नभाच्नेलाई मत माग्ने अधिकार छैन– स्वाँर



अछाम । नेपाली काँग्रेस अछामका सभापति भरतकुमार स्वाँरले दश वर्षसम्म जनप्रतिनिधि भएर पनि विकासको सिन्को पनि नभाच्ने व्यक्तिलाई फेरि अछामी जनतासंग मत माग्ने अधिकार नभएको बताएका छन् ।
अछाम क्षेत्र नम्बर १ का काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार स्वाँरले चुनावताका ‘विकास गर्छौ’ भन्दै पटकपटक जनतालाई झुक्याउने काम भइरहेकोले यो चुनावमा सजग र सचेत हुन मतदातालाई आग्रह गरे ।
मंगलबार मेल्लेख गाउँपालिकाको ऋषिदहमा आयोजित चुनावी सभामा सभापति स्वारले प्रश्न गरे– २०६४ सालदेखि २०७४ सालसम्म अछामबाट निर्वाचित जनप्रतिनिधि भएकाहरूले यो जिल्ला र जिल्लाबासीका लागि के काम गर्‍यौ ?
चुनावी सभामा पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाहले लोकतन्त्रको रक्षा तथा नेपाली जनताको हकअधिकारको संरक्षणको लागि लोकतन्त्रवादी शक्ति विजयी बन्नुपर्ने बताए ।
प्रदेश सभा सदस्य ख क्षेत्रका उम्मेदवार टेकबहादुर साउँद, महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, जिल्ला कोषाध्यक्ष झंकर साउद, बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्का, नेविसंघका जिल्ला अध्यक्ष नृप साउँद लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम तिलक धामीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार