६ कार्तिक २०८१, मंगलवार

नेपाली काँग्रेसद्वारा विभिन्न स्थानमा चुनावीसभा



धनगढी । चुनावी प्रचारप्रसारका क्रममा शुक्रबार नेपाली काँग्रेसले क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा चुनावी सभा गरेको छ ।
यस क्रममा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का आधा दर्जन बढी स्थानमा चुनावी सभा आयोजना गरियो ।
वडा नम्बर १ का पुरानो एयरपोर्ट, केदारटोल, शिवनगर, बसन्त टोल, पशुपतिटोल, मुस्लिम वस्ती लगायतका स्थानमा चुनावी सभा भएका थिए ।
चुनावी सभामा नेपाली काँग्रेसका क्षेत्र नम्बरका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डाक्टर आरजु राणा देउवाले सम्बोधन गरेकी थिइन् ।
ुरानो एयरपोर्टमा भएको चुनावी सभामा डाक्टर राणा देउवाले मुक्त कमैया लगायत विपन्न वर्ग समुदायको आर्थिक उत्थानलाई आफूले पहिलो प्राथमिकता दिएको चर्चा गरिन् ।
सभामा मुक्त कमैया अगुवा जगतराम चौधरीले नेपाली काँग्रेसले नै कमैया, हलिया लगायतको मुक्ति गरेको बताए ।
चुनावी सभामा प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले पनि मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा अखण्ड सुदूरपश्चिमका दलबहादुर बोगटी, एमालेका बसुन्धरा गौतम लगायत २५ जना नेपाली काँग्रेसमा प्रवेश गरे ।
उनीहरूलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर राणा देउवाले स्वागत गर्नुका साथै पार्टी सदस्यता प्रदान गरेकी थिइन् ।
यसैगरी केदारटोलमा भएको चुनावी सभामा डाक्टर राणा देउवाले अहिलेको चुनाव लोकतन्त्र पक्षधर र विरोधीबीचको संघर्ष भएको बताइन् ।

बाम गठबन्धन लोकतन्त्र विरोधी– देउवा
दार्चुला । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धन लोकतन्त्रको विरोधमा निर्माण भएको बताएका छन् । प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन काँग्रेसले जित्नै पर्ने बताए ।
‘बाम गठबन्धन मुलुकमा एकदलीय शासन लाद्ने खेलमा लागेको छ’ शुक्रबार दार्चुलामा आयोजित चुनावी सभामा उनले भने– आसन्न निर्वाचनमा कांग्रेस विजयी भएमा मात्रै देश र जनताको जीत हुने छ ।
सभामा प्रधानमन्त्री देउवाले कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म जोड्ने दुई सय ९० किलोमिटर लामो महाकाली करिडोर आगामी दुई वर्षभित्रै निर्माण पुरा गरिने बताए ।
त्यस्तै, सदरमुकाम र भारतको जौलजिवीमा महाकालीमा पक्कीपुल पनि छिट्टै निर्माण गरिने बताए ।
सभामा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु, प्रदेश सभा सदस्य उम्मेदवार मदन गिरी, समानुपातिक उम्मेदवार नन्दा बम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शुक्रबार प्रधानमन्त्री देउवाले बैतडीको पुर्चौडीहाट, मेलौली र पाटनमा आयोजित चुनावी सभामा सम्बोधन गरेका थिए ।

मंसिर ०२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार