६ कार्तिक २०८१, मंगलवार

प्रदेश नम्बर ७ को सुरक्षा गोष्ठी : विप्लव माओवादीदेखि खुला सीमाना चुनौति



धनगढी । आसन्न निर्वाचनमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको माओवादीका साथै नेपाल भारतबीचको खुला सीमाना सुरक्षा चुनौति रहेको छ । बुधबारदेखि धनगढीमा शुरु भएको प्रदेश नम्बर ७ को सुरक्षा गाष्ठीमा सुरक्षा अधिकारीहरूले खुला सीमानाका कारण भित्रिन सक्ने साना हतियार तथा विप्लव नेतृत्वको माओवादीका कारण चुनौति आउन सक्ने विश्लेषण गरियो ।
त्यस्तै, तराईको जातीय राजनीति तथा पहाडी जिल्लाको भौगोलिक विकटता, प्रतिकुल मौसम, लगायतका चुनौति रहेको सुरक्षा अधिकारीहरूले औंल्याए ।
गोष्ठीमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विजयकुमार भट्टसहित सबै सुरक्षा निकायका प्रदेश प्रमुखले सुरक्षा अवस्था र चुनौतिबारे ब्रिफिङ गरेका थिए ।
गृह सचिव मोहनकृष्ण सापकोटा, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल उपस्थित रहेको कार्यक्रममा एआइजी भट्टले कैलाली, कञ्चनपुर सहितका भारतसंग खुला सीमाना जोडिएका स्थानका कारण साना हतियार भित्रिन सक्ने बताए ।
एअआइजी भट्टले साना हतियार नियन्त्रणका लागि प्रहरीले बनाएको योजनाबारे पनि जानकारी गराएका थिए ।
बैठकमा नेपाली सेनाका निमित्त पृतनापति झंकरबहादुर कडायत, सशस्त्र प्रहरीका डिआइजी खड्ककुमार राई, राष्ट्रिय अनुसन्धान आयोगका क्षेत्रीय निर्देशक ओम जोशी, सुदूरपश्चिमका क्षेत्रीय प्रशासक र ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षा अवस्था, विश्लेषण र चुनौतिबारे प्रस्तुति गरेको थिए ।
प्रदेश नम्बर ७ का बाजुरा, बझाङ, दार्चुला र बैतडीमा आगामी मंसिर १० गते निर्वाचन भइरहेको छ भने बाँकी छ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

कात्तिक ३० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार