हिउद लाग्यो, बेसीतिर
बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ बौडीगाउँका पुरन थापा परिवारका सदस्य तथा भेडाबाख्राको बथानसँगै सदरमुकाम मार्तडी हुदै अछामको बुढाबगरको यात्रामा हिडेका छन् ।
उनी मात्र गाउबाट हिडेका होइनन् । गाउका ३५ परिवार पनि उनीसगै घरबाट हिडेका छन् । गाउमा चिसो बढेसंगै भेडा बाख्रालाई चरन नभएपछि उनीहरु बेसीतिर झरेका हुन् । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनाव नजिकिंदै जांदा बाजुराका हिमाली क्षेत्रका भोटे जनजाती र भेडा पालक कृषकहरु बेसीतिर झर्न थालेका छन् ।
पुरन भेडाहरु रोकेर बुढीगंगाको बगरमा बिहानको खानाको प्रबन्ध मिलाउदै थिए । उनकी श्रीमती पानीको प्रबन्ध गर्न खोलातिर जादै थिइन् । ‘भोट हाल्न फर्केर घर जाने होइन ?’ भनेर सोध्दा पुरनले भने ‘जादैनौं गाउमा कोही छैन । चिसो बढेको छ । हामी फर्कीयौं भने हाम्रा भेडा बाख्रा कसले हेरिदिन्छ ?’ उनीहरु परीवारसगै भेडाबाख्रा पाल्न ६ महिनाका लागि घरबाट निस्केका रहेछन् ।
थापा बसेको डाडोभन्दा पल्लो डाडाको खोचमा झण्डै दश परिवार आफना भेडाबाख्रासगै भेटिए । उनीहरु बुढीनन्दा नगरपालिका ४ का बासिन्दा रहेछन् । समूहमा बेसीतिर झरेका उनीहरु बिहानको खानाको जोहो गर्दै थिए । त्यसमध्येका एक जना बुद्वी बोगटीलाई मत नहाली किन बेसी झर्नु भएको भन्दा ‘फुर्सद छैन, यतिको सम्पतीको माया मारेर भोट मात्र हालौं भने हाम्रो भलो हुदैन’ भने । उनीहरु मात्र बेसी झरेका होइनन् । गाउका सबै मानिसहरु दुई तीनदिनदेखि बेसी झर्न थालेका छन् । गाउमा जम्मा ४८ घरधुरी छ । १० घरपरिवारमा भेडा छैनन् । उनीहरु गाउमा बसे पनि अरु सबै भेडाहरुसग बेसी झरेको बोगटीले बताए ।
अहिले बाजुरा जिल्लाका सबै राजनीतिक दलहरु आफनो गठबन्धनलाई विजयी गराउन मतदाताको घर दैलोमा पुग्ने समय हो । तर जिल्लाका हिमाली क्षेत्रका भेडापालक किसान भने भेडा पाल्न औल (बेसी) तिर झरेका छन् । भेडाहरु चिसोमा पाल्ल नसकिने भएपछि आफूहरु भोट हाल्नको लागि नफर्कने कुरा पाण्डुसैनका सुरत थापाले बताए ।
अहिले चुनावको चहलपहल हुनुपर्ने हो । तर बर्षायामको बालि भित्र्याएर हिमाली गाउपालिका, स्वामीकार्तिक गाउपालिका र बुढीनन्दा नगरपालिका क्षेत्रमा बसोबास गर्ने भोटे जनजातीहरु आफना भेडा बाख्रा र घरपरिवारसागै बेसीतिर झरेको रमाइलो दृष्य देखिन्छ ।
हिउले घास छोप्ने भएका कारण हिमाली क्षेत्रतिर बसोबास गर्ने भोटे र भेडापालक सबै किसानहरुले हरेक हिउद याममा बाजुराको दक्षिणी क्षेत्र अछामबाट डोटीका हिउँ नपर्ने क्षेत्रतिर भेडा बाख्रा चरीचरनका लागि आउने गरेका छन् । चुनावसम्म गाउँमै बस्ने हो भने भेडा बाख्रालाई चराउनको लागि ठाउँ नै हँुदैन । एक भोट हाल्नको लागि आफनो सबै सम्पतीको नास हुने स्थानीय पासाङ गुरुङले बताए ।