१० पुष २०८१, बुधबार

गरिब परिवारलाई परिचयपत्र वितरण



धनगढी । नेपाल सरकार गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण बोर्डले कैलालीमा गरिबको पहिचान गरेका परिवारलाई परिचयपत्र वितरण गरिने भएको छ ।
पहिलो चरणमा मोहन्याल गाउँपालिकाबाट गरिबको परिचयपत्र वितरणको शुरुवातको तयारीका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालयको टोली बुधबार धनगढी आइपुगेको छ ।
कैलालीमा ४४ हजार सात सय २९ घर परिवार गरिवीको रेखामुनि रहेका छन् । जसअन्तर्गत अति गरिब २१ हजार पाँच सय ७७, मध्यम गरिब १३ हजार पाँच सय ६५ र सीमान्तकृत गरिब नौ हजार पाँच सय ८७ घर परिवार रहेका छन् ।
मोहन्याल गाउँपालिकामा गरिबको पहिचान भएका दुई हजार तीन सय ८६ परिवारलाई यसै सातादेखि परिचयपत्र वितरण शुरु गरिने परिचयपत्र वितरणको तयारीका लागि धनगढी आइ पुगेका गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण बोर्ड तथ्यांकअधिकृत ऋषिराम पोखरेलले जानकार दिए ।
गरिब घर परिवार पहिचानका लागि मोहन्याल गाउँपालका भरी ३ हजार ७ सय ४२ परिवारको सर्भेक्षण गरिएकोमा २ हजार ३ सय ८६ परिवारलाई गरिब पहिचान गरिएको उनको भनाइ छ । अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरि ३ भागमा छुट्याएर परिचयपत्र वितरण गरिने छ ।
मोहन्यालमा १ हजार ५ सय ३९ परिवार अति गरिब, ५ सय ४४ परिवार मध्यम गरिब र ३ सय ३ परिवार सामान्य गरिब भनेर पहिचान गरिएको छ ।
अति गरिबलाई रातो, मध्यम गरिबलाई निलो र सामान्य गरिबलाई पहोलो रङको परिचयपत्र वितरण गरिने छ ।
सरकारले प्रदेश नम्बर ७ को कैलाली र बाजुरासहित देभरका ५ जिल्लाका सबै भन्दा बढी गरिब रहेका ५ वटा गाउँपालिकामा पहिलो चरण अन्तर्गत परिचयपत्र वितरण गर्न लागेको तथ्यांक अधिकृत पोखरेलले जानकारी दिए ।
तथ्यांक संकलन गरिएका जिल्लामध्ये सबै भन्दा बढी गरिबी बाजुरामा रहेका पाइएको थियो । बाजुरामा १३ हजार ६ सय १९ घरपरिवार गरिबीको रेखामुनि रहेका तथ्यांकले देखाएको छ । यस्तै कैलालीमा कुल परिवार संख्याको ३९.३ प्रतिशत अर्थात ४४ हजार ६ सय २९ परिवार गरिबीको रेखामुनि रहेका छन् । परिचयपत्र वितरण गर्न लागिएको मोहन्यालमा ७१ दशमलव ६ प्रतिशत र स्वामी कात्तिकमा ८०.२ प्रतिशत परिवार गरिबीको रेखामुनि रहेका तथ्यांक अधिकृत पौडेलले बताए ।

कात्तिक २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार