१४ कार्तिक २०८१, बुधबार

व्याँसवासी मतदानबाट बञ्चित हुन सक्ने



दार्चुला । निर्वाचन आयोगले व्याँसवासीका लागि अस्थायी मतदान केन्द्रको अनुमति नदिएपछि सो क्षेत्रका मतदाताहरू मताधिकारबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ ।
विगतका चुनावमा खलंगामा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्दै आएका व्याँसवासीका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान गर्न अस्थायी मतदान केन्द्र राख्न नसकिने जनाएको छ ।
व्यास क्षेत्रमा हिउ पर्न थालेको छ । हिउ परेसंगै व्यासका बासिन्दा सदरमुकाम झर्ने गर्दछन् । छ महिना व्यास र छ महिना खलंगा बस्ने यो समुदायको खलंगा झर्ने समय र मतदानको समय संगै पर्न गएको छ । चिसो बढेसँगै व्याँसमा बस्न नसिकने भएपछि मतदाताहरू खलंगा झर्न सुरु गरेका हुन् । व्याँसमा रहेका मतदाता पनि खलंगा झर्ने तयारीमा छन् ।
भारतीय अनुमति थप समस्या
चिसोमा खलंगा झर्नु पर्ने र खलंगामा अस्थायी मतदान केन्द्र नहुँदा मात्रै नभएर भारतीय अनुमतिपत्रका कारण पनि व्याँसी समुदाय मतदानबाट वञ्चित हुने अवस्थामा पुगेका छन् ।
मंसिर १० अर्थात् नोभेम्बर २६ तारिकका दिन व्याँसमा मतदान गरेर खलंगा झर्न व्याँसवासीलाई भारतीय अनुमतिपत्रले समस्या थपेको हो । व्याँसवासीले खलंगाबाट व्याँस पुग्न भारतीय बाटोको प्रयोग गर्नु पर्दछ । भारतीय बाटो प्रयोग गर्दा भारतीय प्रशासनबाट अनुमतिपत्र लिनुपर्ने तथा सो अनुमतिपत्रको म्याद नोभेम्बर ३० सम्म मात्रै हुने गर्दछ । नोभेम्बर २६ मा मतदान गरेर कुञ्चा सार्ने तयारी गर्नुपर्ने र भारतीय बाटोमा गाईबस्तुसँग हिड्दा झण्डै ५ दिन लाग्ने हुन्छ । यस्तो अवस्थामा बहुयात्रा अनुमतिपत्रको सकिनेछ र नागरिकले थप समस्या झेल्नु पर्ने अवस्था सिर्जना हुने एमाले नेता जहेन्द्र ऐतवालले बताए ।
आफूहरूले दार्चुलाको बस्तुस्थिति निर्वाचन आयोगलाई लेखि पठाएको र निर्वाचन आयोगले मतदान केन्द्र सार्ने अनुमति दिन नसिकिने जवाफ दिएको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले जानकारी दिए ।
स्थानीय तहमा व्याँस कै दुई मतदान केन्द्रमा स्थानीयले मतदान गरे भएपनि बहुदलीय व्यवस्थाको पुनस्र्थापनादेखि २०७० सालसम्म भएको राष्टिय निर्वाचनहरूमा व्याँसवासीले खलंगा कै अवस्थायी मतदान केन्द्रमा मतदान गर्ने गर्दथे ।
२०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ को संसदीय निर्वाचन, २०६४ को पहिलो संविधान सभा सदस्यको निर्वाचन तथा २०७० को दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा समेत खलंगामा रहेको कैलाशपति निमावि छाङ्रुमा व्याँसवासीहरूले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार