६ कार्तिक २०८१, मंगलवार

संविधानमा सबैका अधिकार सुनिश्चित छन्– आरजु



धनगढी । कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले नेपालको संविधान–२०७२ मा सबै पक्षका अधिकार सुनिश्चित गरिएको दोहोर्‍याएकि छिन् ।
‘हाम्रो नयाँ संविधानमा सबै जातजाति, वर्ग, समुदायका अधिकारहरू सुनिश्चित छन्’ धनगढीमा बुधबार नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ५ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेतृ राणाले भनिन्– ‘लामो संघर्ष गरेर संविधानमा महिला, दलित, मधेशी, जनजाति र पिछडिएका समुदायका अधिकार सुनिश्चित गरिएको छ । यसलाई अक्षरश: कार्यान्वयन गराउन मैले उम्मेदवारी दिएको हुँ ।’
उनले संविधानमा व्यवस्था गरिएका महिलाका अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक शक्तिको विजय अनिवार्य भएको बताइन् । उनले भनिन्– ‘यो निर्वाचनमा लोकतान्त्रिक शक्ति हारेमा महिलाले प्राप्त गरेका अधिकार पनि गुम्नेछन् ।’
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवार रहेकी काँग्रेस नेतृ राणाले भनिन्– ‘महिला प्रत्यक्ष तर्फको चुनाव नै लड्न सक्दैनन् भन्ने सोचका विरुद्ध मैले उम्मेदवारी दिए ।’ उनले अहिलेको चुनाव स्वतन्त्रता पक्षधर र स्वतन्त्रता बिरोधीबीचको छनोट भएको बताइन् ।
उनले कैलाली लगायत समग्र ७ नम्बर प्रदेशको आर्थिक समृद्धि आफ्नो मुख्य एजेण्डा भएको चर्चा गरिन् । उनले भनिन्– ‘गौरीफण्टा भंसारको स्तरोन्नती, व्यवस्थित शहरीकरण, मुक्त कमैंया, सुकम्वासी र हलियाको व्यवस्थापन, गेटा विमानस्थलको स्तरोन्नती लगायतका मुद्दालाई आफूले प्राथमिकतामा राखेको बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति नरनारायण शाह मनुले कैलाली निर्वाचन क्षेत्र ५ मा काँग्रेसको जित सुनिश्चित भएको दाबी गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, पुर्व सांसद प्यारेलाल राना, कैलाली निर्वाच क्षेत्र प्रदेश क का उम्मेदवार जीवन राना, प्रदेशका ख का उम्मेदवार डिल्लीराज पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार