३ आश्विन २०८१, बिहीबार

सुदूरपश्चिम महोत्सव–२०७३ आज समापन



apanuधनगढी । गत २२ गतेदेखि सञ्चालन भएको सुदूरपश्चिम महोत्सव–२०७३ मा आज समापन हुँदैछ ।
‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा शुक्रबारसम्म नौ करोड रुपैयाँ बढीको कारोबार भएको छ । संघले महोत्सवमा १० करोड रुपैयाँ बढीको कारोबार हुने अनुमान गरिएको थियो ।
त्यस्तै, महोत्सवमा हालसम्म टिकट बिक्रीबाट ६० लाख रुपैयाँ बढी संकलन भइसकेको छ । संघका अध्यक्ष शंकर बोगटीले शुक्रबार सात लाख ५६ हजार रुपैयाँको टिकट बिक्री भएको बताए ।
संघले यस वर्षको महोत्सवलाई ‘लगानी दशक अभियान’ को शुरुवातका रूपमा घोषणा गरेको थियो । सुदूरपश्चिमको तीब्र आर्थिक विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता र गैरआवासीय नेपालीलाई लगानीका लागि आकर्षित गर्न महोत्सवलाई मञ्चका रूपमा उपयोग गरिएको अध्यक्ष बोगटीले बताए । उनले लगानी दशक अभियानलाई महोत्सवले बलियो बनाएको धारणा व्यक्त गरे ।
संघका पूर्व अध्यक्ष कर्ण कुँवरले ‘लगानी दशक अभियान’ ले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । ‘राज्यको कुल बजेटमध्ये सुदूरपश्चिमका लागि करिब आठ प्रतिशतमात्र हिस्सा हुने गरेको छ’ उनले महोत्सवमार्फत सरकारमाथि सुदूरपश्चिममा विकास बजेट बढाउन दबाव सिर्जना गरेको बताए ।
संघका महासचिव रुपेश स्वाँरले सुदूरपश्चिमको विकासका लागि कृषि, पर्यटन, जडिबुटी, जलस्रोत र पूर्वाधारमा लगानी बृद्धि आवश्यक भएको बताए । महासचिव स्वाँरले लगानी दशक अभियानबाट विदेशी र स्वदेशी लगानीकर्तालाई विभिन्न कार्यक्रमको आयोजना गरेर लगानी गराउन आकर्षित गरिने बताए ।
सुदूरपश्चिममा अरु क्षेत्रको तुलनामा लगानीका लागि बढी सुरक्षित र उपयुक्त वातावरण रहेको संघको विश्वास छ ।
महोत्सवमा शुक्रबार गायिका कोमल वली र गायक यज्ञराज उपाध्यायको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार