६ कार्तिक २०८१, मंगलवार

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन : प्रदेश नम्बर ७ मा चौध लाख बढी मतदाता



धनगढी । आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि प्रदेश नम्बर ७ मा १४ लाख बढी मतदाता रहेका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि १४ लाख ३५ हजार ६ सय ७१ मतदाता रहेका छन् । प्रदेश नम्बर ७ मा महिला मतदाताको संख्या सात लाख ३९ हजार ७५ रहेको छ । त्यस्तै, पुरुष मतदाताको संख्या ६ लाख ९६ हजार पाँच सय ८० र तेस्रोलिंगी मतदाताको संख्या १६ रहेको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ७ मा सबैभन्दा बढी कैलालीमा मतदाता रहेका छन् । कैलालीमा चार लाख ६० हजार पाँच सय ८० मतदाता रहेका छन् । त्यस्तै, बाजुरामा सबैभन्दा कम ६९ हजार आठ सय ३० जना मतदाता रहेका छन् ।
कैलालीमा महिला मतदाताको संख्या दुई लाख ३७ हजार ६३ रहेको छ भने पुरुष मतदाताको संख्या दुई लाख २३ हजार पाँच सय नौ र आठ जना तेस्रोलिंगी मतदाता रहेका छन् ।
त्यस्तै, कञ्चनपुरमा एक लाख ३६ हजार चार सय ५१ महिला र एक लाख २८ हजार पाँच सय २३ पुरुष र एक जना तेस्रोलिंगी सहित दुई लाख ६४ हजार नौ सय ७५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, डडेल्धुरामा ४० हजार एक सय ५६ पुरुष र ४१ हजार पाँच सय ७६ महिलासहित ८१ हजार सात सय ३२ मतदाता रहेका छन् भने डोटीमा ४९ हजार एक सय ४३ पुरुष र ५७ हजार चार सय महिला गरी एक लाख छ हजार पाँच सय ४३ मतदाता रहेका छन् ।
बैतडीमा ६४ हजार चार सय ७० पुरुष, ६७ हजार आठ सय ४५ महिला र दुई तेस्रो लिङ्गी गरी एक लाख ३२ हजार तीन सय १७ मतदाता रहेका छन् ।
त्यस्तै, दार्चुलामा ३९ हजार पाँच सय ८५ पुरुष र ३८ हजार नौ सय २७ महिला गरी ७८ हजार पाँच सय १२, बझाङ्मा ५१ हजार दुई सय ७१ पुरुष, ५३ हजार तीन महिला र एकजना तेस्रोलिंगी गरी एक लाख चार हजार दुई सय ७५, अछाममा ६४ हजार सात सय ७६ पुरुष, ७२ हजार एक सय २५ महिला र दुई जना तेस्रोलिंगी गरि एक लाख ३६ हजार नौ सय तीन र बाजुरामा ३५ हजार एक सय ४७ पुरुष, ३४ हजार छ सय ८५ महिला र दुई जना तेस्रोलिङ्गी गरी ६९ हजार आठ सय ३४ मतदाता रहेका छन् ।
सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मिति घोषणा गरेको दिन अर्थात् २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको नाम यो मतदाता नामावलीमा समावेश गरिएको जनाइएको छ ।

असाेज १९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार