६ कार्तिक २०८१, मंगलवार

७३ प्रतिशत मत खस्यो : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले प्रदेश न‌ं. २ मा सोमबार भएको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको जनाएको छ । आयोगको प्रारम्भिक प्रतिवेदन अनुसार उक्त संख्यामा त खसेको जनाएको हो ।
आयोगमा सोमबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले मतदान शान्तिपूर्ण, उत्साहजनक र सहभागितामूलक भएकोसमेत उल्लेख गरे । ‘प्रचण्ड गर्मीको अवस्थामा पनि जुन ढ‌ंगले मतदाताहरु मत खसाल्न धैर्यताका साथ लाइनबद्ध भएर बसे, यसले लोकतान्त्रिक अभ्यासमा सहभागी हुने उहाँहरुको उत्कठ चाहना बुझ्न सकिन्छ’ उनले भने ।
स्थानीय तहको तेस्रो चरणअन्तर्गतको प्रदेश २ का आठ जिल्लामा सोमबार मतदान भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । छिट्फुट घटना बाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विभिन्न जिल्ला रहेका हाम्रा प्रतिनिधिले दिएको जानकारी अनुसार प्राय सबै स्थानमा ७० प्रतिशतभन्दा माथि मत खसेको छ ।
प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।
सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ७५ (३९ प्रतिशत) र पुरुष २२ हजार ८ सय ६१ (६१ प्रतिशत) छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार