६ कार्तिक २०८१, मंगलवार

गोली प्रहार गरी फरार भएका दुई जना पक्राउ



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका, गड्डाचौकी नजिक बिहीबार राति दुई जना भारतीय नागरिकलाई गोली प्रहार गरी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
बिहीबार राति भीमदत्त नगरबाट सीमावर्ती भारतीय बजार वनबासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय नागरिक जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली प्रहार गरी फरार भएका भीमदत्त नगरपालिका वडा नम्बर ९ का दुई युवकलाई गड्डाचौकी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।
गोली लागेका भारतीय नागरिक दुबैजना शारदा ब्यारेजका कर्मचारी रहेको बताइएको छ । उनीहरूमाथि गोली प्रहार गर्नेमा भीमदत्त नगरपालिका–९, मटेनाका १७ वर्षीय करनसिंह भण्डारी र २१ वर्षीय बिक्रम नाथ रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई भीमदत्त नगरपालिकाको जिमुवा क्षेत्रबाट गोली प्रहारमा प्रयोग गरिएको पेस्तोल र चक्कुसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक रघुनाथ भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार