६ कार्तिक २०८१, मंगलवार

चमेलिया जलविद्युत आयोजना : प्रसारण लाइन परीक्षण शुरु



दार्चुला । बहुप्रतिक्षित दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको प्रसारण लाइन परीक्षण शुरु भएको छ । विद्युत आयोजनाको बलाँच–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइन परीक्षण कार्य शुरु भएको जनाइएको छ ।
बलाँचदेखि कैलालीको अत्तरियासम्मको एक सय ३२ केभी प्रसारण लाइन तथा सब–स्टेशनको परीक्षण कार्य शुरु भएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।
आयोजना प्रमुख दाहालले सो विद्युत आयोजनाको ९९ प्रतिशतभन्दा बढी निर्माण कार्य पुरा भइसकेकोले आइतबारदेखि बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सब–स्टेशनको परीक्षण शुरु भएको बताए ।
प्रसारण लाइनको परीक्षण शुरु गर्न नेपाल विद्युत प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदाता, इन्जिनियरहरू सहितको प्राविधिक टोलीले अत्तरियाबाट परीक्षण कार्य अगाडी बढाएको छ ।
एक सय ३१ किलोमिटर प्रसारण लाइन र सब–स्टेशनका साथै आयोजनासंग सम्बन्धित विभिन्न उपकरणहरूको परीक्षण कार्य १५ दिनसम्म चल्ने उनले बताए ।
सन् २००७ देखि सञ्चालन भएको राष्ट्रिय गौरवको आयोजना तथा सुदूरपश्चिमको हालसम्मको सबैभन्दा ठूलो विद्युत आयोजनाका रूपमा रहेको चमेलियाबाट यसैवर्षदेखि विद्युत उत्पादन कार्य शुरु हुने छ ।
आयोजना प्रमुख दाहालले चमेलिया विद्युत आयोजनामा टनेल नम्बर २ र ३ ब्लकिङ गर्ने काम र केही उपकरण जडान गर्न मात्रै बाँकी रहेको बताए ।
आयोजनाको सम्झौता हुँदाका बखत सन् २०११ मा निर्माण कार्य पुरा हुने लक्ष्य राखिएकोमा विभिन्न कारणले निर्माण कार्य लम्बिएर छ वर्ष ढिलो गरी यसै वर्ष अर्थात् सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने भएको छ ।
शुरुमा सो विद्युत आयोजनाको लागत अनुमान आठ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । तर, लक्ष्यभन्दा छ वर्ष ढिलो भएका कारण लागत दुई गुणाले बृद्धि भई १५ अर्ब ६० करोड रुपैयाँ लाग्ने संशोधित अनुमान रहेको छ ।
३० मेघावाट विद्युत उत्पादन क्षमताको चमेलिया जलविद्युत आयोजनाको निर्माणमा हालसम्म १४ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार