२२ पुष २०८१, सोमबार

अछामको चौरपाटीमा हर्क साउँदको पक्षमा फैसला



अछाम । अछामको चौरपाटी गाउँपालिका प्रमुखमा पदमा पुन: मतगणना नगर्ने गरी आइतबार उच्च अदालत दिपायलले फैसला गरेको छ ।
सो गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार भीमबहादुर साउँदले पुन: मतगणनाको माग राख्दै असार २३ गते उच्च अदालत दिपायलमा मुद्दा दर्ता गरेका थिए । उच्च अदालत दिपायलका न्यायाधिसद्वय चित्रदेव जोशी र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले गाउँपालकाको मत गणना पुन: नहुने गरी मुद्दा खारेज गरेको छ ।
अध्यक्ष पदमा विजयी भएका नेकपा (एमाले) का उम्मेद्वार हर्कबहादुर साउँदको पक्षमा फैसला गर्दै भीमबहादुर साउँदको मुद्दा खारेजी गरेको अधिवक्ता खडकबहादुर खड्काले जानकारी दिए ।
मुद्दाको पक्षमा बाबुराम कुँवर सहित चार र प्रतिपक्षमा टिकाराम भट्टराई सहित चार जनाले बहस गरेका थिए । उच्च अदालतले निर्वाचन कसुर तथा सजाय ऐन अनुसार असार २३ गते नै नवनिर्वाचित अध्यक्ष हर्कबहादुरलाई साउन ८ गतेसम्म कुनै कार्य नगर्न/नगराउन हुन आदेश गरेको थियो ।
भीमबहादुरले विजयी हर्कबहादुर साउँद, मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसेन, निर्वाचन अधिकृतको कार्यालय चौरपाटी, चौरपाटी गाउँपालिका निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपाने, जिल्ला निर्वाचन कार्यालय अछामलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमबहादुर साउँद एक मतले पराजित भएका थिए ।
विजयी भएका हर्कबहादुर साउँदले तीन हजार एक सय ३८ मत ल्याए भने भीमबहादुर साउँदले तीन हजार एक सय ३७ मत ल्याएर पराजित भएका थिए ।
सो गाउँपालिका उपप्रममुख भने नेपाली कांग्रेसका माया कुँवर विजयी भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार