५ जेष्ठ २०८१, शनिबार

पत्रकार र सञ्चारगृह सम्मानित



धनगढी । सञ्चार प्रतिष्ठान नेपालले आप्रवासन सम्बन्धी समाचार सामाग्री उत्पादन गरी प्रकाशन तथा प्रशारण गर्ने पाँच जना पत्रकार र चार वटा सञ्चार माध्यम सम्मान गरेको छ ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाको आर्थिक सहयोगमा सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्तरगत पाँच जना पत्रकार र एउटा सञ्चार माध्यमलाई पुरस्कारसहित सम्मान गरेको हो भने परियोजनाको सहकार्यमा रेडियो कार्यक्रम देश परदेश कार्यक्रम सञ्चालन गर्ने तीन वटा रेडियो स्टेशनहरूलाई सम्मान गरिएको हो ।
लम्कीको सामुदायिक रेडियो पश्चिम आवाज, टीकापुरको सुदूरपश्चिमको प्रयास साप्ताहिककी सम्पादक दुर्गाकुमारी देवकोटा, टीकापुर एफएमका पत्रकार दिलबहादुर चौधरी, टीकापुरको समाधान न्युजका सम्पादक छबिलाल जैशी, धनगढीको दिनेश एफएमका रोहितराज गिरी, धनगढीको कैलाली दैनिकका मोहनप्रसाद जोशीलाई पुरस्कारसहित सम्मानित गरिएको हो । उनीहरूले आप्रवासन सम्बन्धि समाचार सामाग्री उत्पादन गरी प्रकाशन तथा प्रशारण गरेका थिए ।
सामीको सहकार्यमा रेडियो कार्यक्रम देश परदेश उत्पादन गरी प्रशारण गर्ने दिनेश एफएम धनगढी, डौनाबेबरी एफएम पहलमानपुर र सामुदायिक रेडियो टीकापुर एफएमलाई पनि सम्मान गरिएको हो ।
उनीहरूलाई स्थानीय विकास अधिकारी केशवप्रसाद विमली, सञ्चार प्रतिष्ठान नेपालका उपाध्यक्ष गणेश चौधरी, सामी परियोजना जिल्ला संयोजक पञ्चराम चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष जगत साउदले संयुक्तहरूमा टीका, खादा लगाएर प्रमाण पत्र र पुरस्कारराशी हस्तान्तरण गरेका थिए ।
सो अवसरमा स्थानीय विकास अधिकारी विमलीले पत्रकारलाई प्रयोत्साहित गर्ने नीति लिएको सञ्चार प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले पत्रकारहरूले आप्रवासनको विषयमा अझै प्रखर भएर खोजमुलक समाचार लेख्दा सम्मान सार्थक हुने विश्वास व्यक्त गरे । उनले तेस्रो मुलुक जानेको संख्या बढेपनि भारत जानेको संख्या त्यो भन्दा पनि धेरै भएकाले भारत जानेको बारेमा समेत खोजमुलक समाचार लेख्नुपर्ने बताए ।
सामी परियोजना जिल्ला संयोजक चौधरीले सामी परियोजना लागु भएदेखि आप्रवासनका विषयमा व्यापक रुपमा समाचार सामाग्रीहरू सञ्चार माध्यममा आउन थालेको बताए । उनले आप्रवासनका समाचार प्रकाशन प्रशारण गरी समुदायलाई सुसूचित र जागरुक बनाउन पत्रकार र सञ्चार माध्यमहरूलाई उत्साहित गरे ।
सञ्चार प्रतिष्ठान नेपालका उपाध्यक्ष गणेश चौधरीले पत्रकारहरूलाई बिट रिपोर्टिङ्ग नगर्ने पत्रकारलाई टिकिरहन गाह्रो रहेकोले आप्रवासन सम्बन्धी तालीम पाएर लेख्न थालेर पुरस्कृत हुने पत्रकारलाई आप्रवासन बिटमा रिपोटिङ्ग गर्न सुझाव दिए ।
सञ्चार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक मनमोहन स्वाँरले आप्रवासन राज्य, स्थानीय सरकार र सबै पत्रकारहरूको जिम्मेवारी भएकाले यो विषय सबैले आत्मसात गर्नुपर्ने बताए । उनले पत्रकारहरूले यस विषयमा परियोजना नरहेपनि निरन्तर कलम चलाउने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जगत साउदले पुरस्कार पाउन र सम्मानित हुनका लागि मात्रै नभएर नागरिकहरूलाई सुसूचित गरी जागरुक बनाउन पत्रकारहरूले निरन्तर लाग्नुपर्ने बताए । उनले आप्रवासन विषय हरेक घर परिवारसंग जोडिएको विषय भएकाले यो विषयमा सबै तहको सरोकारको विषय हुनुपर्ने बताए
कार्यक्रममा प्रेस चौतारीका जिल्ला अध्यक्ष मीन ठकुरी, प्रेस युनिका बरिष्ठ उपाध्यक्ष भीम चौधरी, पुरस्कृत रेडियो पश्चिम आवाजका स्टेशन म्यानेजर युवराज न्यौपाने र सुदूरपश्चिमको प्रयासकी सम्पादक देवकोटाले मन्तव्य व्यक्त गरेका थिए । सो क्रममा न्योपानले आप्रवासनका विषयमा अझै जिम्मेवारी थपिएको र यस क्षेत्रमा लागेर काम गर्न उर्जा मिलेको बताए । देवकोटाले समाचार लेखेवाफत पहिलो पटक सम्मानित हुन पाएकोमा खुशी लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार