बडीकेदारको सञ्चार टावर प्रस्ताव कागजमै सीमित, तत्काल कार्यान्वयन गर्न अध्यक्ष बमको माग
डोटी/ बडीकेदार क्षेत्रमा सञ्चार टावर स्थापनाका लागि २०८२ सालदेखि विभिन्न निकायमा प्रस्ताव पुगे पनि हालसम्म कार्यान्वयन हुन नसकेको भन्दै बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले आपत्ति जनाएको छ।

समितिका अध्यक्ष उपेन्द्र बमले बडीकेदार क्षेत्रमा भरपर्दो दूरसञ्चार सेवा विस्तारका लागि पटक–पटक पहल भए पनि टावर निर्माणको काम अघि नबढ्नु दुःखद भएको बताए। उनले प्रस्तावको वर्तमान अवस्था सार्वजनिक गर्दै तत्काल टावर निर्माण प्रक्रिया अघि बढाउन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिकम र सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेका छन्।
अध्यक्ष बमका अनुसार २०८२ साल पुसमा बोगटान फुड्सिल गाउँपालिकाको सिफारिससहित आवश्यक विवरण र स्थानीय जनताको प्रतिवेदन नेपाल टेलिकमको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियामा बुझाइएको थियो। त्यस क्रममा प्रस्तावित स्थान सञ्चार टावर स्थापनाका लागि उपयुक्त रहेको र टावर आवश्यक रहेको जानकारी सम्बन्धित अधिकारीबाट प्राप्त भएको उनले बताए।
“फाइल अघि बढ्यो, तर टावर किन बनेन ” अध्यक्ष बमले प्रश्न गर्दै जनताको माग, पालिकाको सिफारिस र प्राविधिक विवरण सम्बन्धित निकायमा पुगिसकेको अवस्थामा पनि सेवा विस्तार हुन नसक्नु गम्भीर विषय भएको बताए।
धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा बडीकेदारमा गतिविधि बढ्दै गएको उल्लेख गर्दै उनले सञ्चार सेवा सामान्य सुविधा मात्र नभई पर्यटकको सुरक्षा, आपत्कालीन उद्धार, स्वास्थ्य सेवा तथा सूचना आदानप्रदानसँग प्रत्यक्ष जोडिएको आधारभूत पूर्वाधार भएको बताए ।

उनले बडीकेदार क्षेत्रलाई पर्यटन तथा सञ्चार पूर्वाधार विकासको प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा बजेटमा सञ्चार टावर स्थापनाका लागि स्पष्ट बजेट व्यवस्था गर्नसमेत माग गरेका छन्।
समितिले २०८२ सालदेखि विभिन्न निकायमा पुगेको प्रस्तावको अवस्था सार्वजनिक गर्न, प्राविधिक रूपमा उपयुक्त स्थानमा तत्काल बजेट तथा स्वीकृति सुनिश्चित गर्न र टावर निर्माण प्रक्रिया अघि बढाउन माग गरेको छ।

यसैबीच, समितिले बडीकेदार धाममा विद्युत् लाइन विस्तारका लागि पनि केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको धाममा विद्युत् सेवा विस्तार हुन सके पूर्वाधार विकास र तीर्थयात्रीको सुविधामा थप सहयोग पुग्ने अध्यक्ष बमको भनाइ छ।
अध्यक्ष बमले सरकारले गरेको प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै बडीकेदारलाई अब आश्वासन नभई परिणाम आवश्यक रहेको बताए । माग सम्बोधन नभए स्थानीय नागरिक, सञ्चारमाध्यम र सरोकारवालासँग समन्वय गरी थप दबाबमूलक कार्यक्रम अघि बढाउने उनले चेतावनी दिए ।




