ग्यास अभावको विवादबीच उद्योगमन्त्री यादवको राजीनामा
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् । उनको राजीनामा स्वीकृत भएको वा नभएकोबारे भने औपचारिक विवरण सार्वजनिक भइसकेको छैन ।
पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर मन्त्री यादवमाथि दबाब बढ्दै गएको थियो । उपभोक्ताले ग्यास नपाउने समस्या भोगिरहँदा आपूर्ति सहज बनाउन प्रभावकारी पहल गर्न नसकेको भन्दै उनको आलोचना हुँदै आएको थियो ।
यही विषयमा बुधबार बसेको संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यास अभावको जिम्मेवारी उद्योगीलाई लगाएकी थिइन् । उनले मन्त्रालयका कर्मचारीबाट समेत अपेक्षित सहयोग नपाएको गुनासो गरेकी थिइन् ।
ग्यास आपूर्तिको विषयमा उद्योगीसँगको विवाद थप चर्किएपछि उनको राजीनामाको विषय सतहमा आएको हो । मन्त्री यादवले उद्योगीलाई कडा कारबाही गर्ने र आवश्यक परे लाइसेन्ससमेत खारेज गर्ने चेतावनी दिएकी थिइन् ।
मन्त्रीको उक्त अभिव्यक्तिप्रति व्यवसायीहरू असन्तुष्ट बनेका थिए । उनीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत सम्पर्क गरी अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
ग्यास आपूर्तिको समस्या समाधान, उद्योगी–मन्त्रालय विवाद र राजनीतिक दबाबबीच यादवले पदबाट राजीनामा दिएपछि उद्योग मन्त्रालयको नेतृत्वमा अब कसलाई ल्याइने भन्ने विषय चासोको बनेको छ ।




