२ भदौ २०८३, मंगलबार

करिब एक वर्षदेखि अमेरिकामा बस्दै आएका प्रदेशसभा सदस्य देउवा पदमुक्त



कैलाली- सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा मंगलबारदेखि पदमुक्त भएका छन्।

लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा बिनासूचना अनुपस्थित देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरे। अब उनी प्रदेशसभा सदस्य रहेनन्।

उक्त निर्णयबारे सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा जानकारी गराउने छन्।

उनी गत वर्ष भदौ २८ गते जेन-जी आन्दोलनपछि अमेरिका पसेका थिए। स्वास्थ्यमा समस्या देखिएको भन्दै अमेरिकामै बसेका उनी ११ महिना बित्दा पनि फर्किएका छैनन्।

छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाएर आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको बताएका थिए ।

स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता उनले जनाएका थिए।

तर, पत्र पठाएको चार महिनामा पनि उनी फर्किएका छैनन्। उनको उपचारको अवस्था र आउनेबारे कांग्रेस नेताहरू जानकार छैनन्।

संविधानको धारा १८० (घ) मा प्रदेशसभा सदस्य सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था छ। त्यही संवैधानिक व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको हो। सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० मा पनि यसको व्यवस्था छ।

प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनमा बसेका २५ वटा बैठकमध्ये देउवा आठवटा बैठकमा मात्रै उपस्थित भए । त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उपस्थित भएनन्। पछिल्ला २७ वटा बैठकमा उनको हाजिरी छैन ।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ बैठक बसेका छन्। तीमध्ये देउवा ६० वटा बैठकमा मात्रै उपस्थित भएका छन्।

सेवा-सुविधा

अमेरिकामा रहेका देउवाको खातामा प्रदेशसभा सचिवालयले नियमित रूपमा सेवा–सुविधाबापतको रकम पठाउँदै आएको थियो।

सचिवालयका अनुसार ११ महिनामा देउवाले ७ लाख ५३ हजार ५ सय रुपैयाँ बुझिसकेका छन्। उनलाई मासिक पारिश्रमिक, धारा–बिजुली, सञ्चार र अतिथि सत्कारलगायत शीर्षकमा रकम पठाइँदै आएको थियो।

सचिवालयले मासिक रूपमा पारिश्रमिकबापत ५६ हजार ५ सय, धारा–बिजुलीबापत २ हजार, सञ्चार सुविधाबापत ३ हजार र अतिथि सत्कारबापत ७ हजार रुपैयाँ गरी कुल ६८ हजार ५ सय रुपैयाँ उनको खातामा जम्मा गर्दै आएको जनाएको छ।

यस्तै, गत जेठमा निजी आवास मर्मत शीर्षकमा थप ३५ हजार रुपैयाँसमेत पठाइएको थियो। यसअघि माघमा देउवा नेपालमा नरहेको भन्दै सचिवालयले उनको सेवा–सुविधा रोक्का गरेको थियो।

तर, कानुनअनुसार प्रदेशसभा सदस्य पद कायम रहेसम्म सेवा–सुविधा रोक्न नमिल्ने भएपछि जेठमा चार महिनाको रकम एकमुस्ट भुक्तानी गरिएको थियो।

प्रकाशबहादुर देउवा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा हुन्। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

लामो समयदेखि आफ्नो निर्वाचित प्रतिनिधि सम्पर्कविहीन रहेको भन्दै उनको निर्वाचन क्षेत्रका मतदाताले असन्तुष्ट थिए।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार