गेटा विश्वविद्यालयमा सहमति, डा. केसीले तोडे अनसन
धनगढी/ धनगढीमा चार दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीले सरकारसँग पाँचबुँदे सहमति भएपछि आफ्नो अनसन स्थगित गरेका छन्।
डा. केसीका मागका विषयमा छलफल गर्न सरकारी वार्ता टोली शनिबार धनगढी पुगेको थियो। लामो छलफलपछि सहमति जुटेपछि उनले जुस पिएर अनसन तोडेका हुन्।
उनले बाजुराको गौमुल गाउँपालिका–२ निवासी चक्रबहादुर धामीको हातबाट जुस ग्रहण गरेका थिए। धामी सेती प्रादेशिक अस्पतालमा उपचाररत ८ वर्षीय सुदीप कोइरालाका कुरुवा (भिनाजु) हुन्।
सरकार र डा. केसी पक्षबीच भएको सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाइनेछ।
त्यस्तै, विश्वविद्यालय सभाबाट स्वीकृत निर्णयअनुसार एमबीबीएससहित अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक प्राध्यापक तथा कर्मचारी भर्ना, पाठ्यक्रम स्वीकृति र अन्य शैक्षिक तयारी यथाशीघ्र पूरा गर्ने सहमति भएको छ। ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा पूर्वाधार तयारी पनि तत्काल गर्ने उल्लेख गरिएको छ।
सहमतिमा विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्ने विषय पनि समेटिएको छ। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता, नियुक्ति तथा अन्य प्रावधान संशोधन गर्न आवश्यक प्रस्ताव संघीय संसद्को चालु अधिवेशनमै, बढीमा तीन महिनाभित्र, पेश गर्ने प्रतिबद्धता जनाइएको छ।
यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ अनुसार चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा रूपान्तरण गर्ने व्यवस्थाको कार्यान्वयनबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव पनि सरकारसमक्ष लैजाने सहमति भएको छ। उक्त कार्यदलले अध्ययन गरी छ महिनाभित्र राय–सुझावसहितको प्रतिवेदन पेश गर्नेछ।




