अस्ट्रेलियाको मोह त्यागेर फर्किए, विद्यालयदेखि क्याफेसम्मको
धनगढी/ धेरै नेपाली युवाका लागि अस्ट्रेलिया सपनाको गन्तव्य हो। अध्ययनका लागि त्यहाँ पुग्ने अधिकांश युवाको चाहना स्थायी रूपमा उतै बस्ने हुन्छ। तर धनगढीका ३१ वर्षीय युवा आशिष ऐरले भने फरक बाटो रोजे। अस्ट्रेलियामा अध्ययन पूरा गरी स्थायी बसोबासको अवसर हुँदाहुँदै उनले स्वदेश फर्कने निर्णय गरे। आज उनी नेपालमै सफल उद्यमीका रूपमा स्थापित हुँदै दर्जनौं युवालाई रोजगारी दिइरहेका छन्।

धनगढीस्थित बोर्ड भिजन इन्टरनेशनल एकेडेमीबाट २०६६ सालमा एसएलसी उत्तीर्ण गरेका ऐरले काठमाडौंको पेन्टागन कलेजबाट प्लस टु पूरा गरे। त्यसपछि उच्च अध्ययनका लागि अस्ट्रेलिया पुगेका उनले मेकानिकल विषयमा डिप्लोमा गरे। करिब साढे दुई वर्ष अस्ट्रेलियामा बसेपछि भने उनी आफ्नै देश फर्किए।
“मलाई विदेशमा हराउने होइन, नेपालमै केही गरेर देखाउने इच्छा थियो,” ऐर भन्छन्। उनका अनुसार विदेशमा अवसर भए पनि जीवन निकै यान्त्रिक लाग्यो। “त्यहाँ मानिसभन्दा मेसिनजस्तै भएर काम गर्नुपर्छ। काम आवश्यक छ, तर सहज र आफ्नोपन भएको जीवन नेपालमै सम्भव छ,” उनले अनुभव सुनाए।
सानैदेखि व्यवसायी बुवाको कामबाट प्रेरित भएका ऐर नेपाल फर्किएपछि काठमाडौंमा ब्याचलर अफ इन्फरमेशन टेक्नोलोजी अध्ययन गर्दै विभिन्न व्यवसायमा हात हाले। रेष्टुरेन्ट, दुईपांग्रे सवारीसाधनका मोटर पार्ट्स, डिजाइन तथा कन्सल्टेन्सी सञ्चालन गरेपछि उनले साथीहरूसँग मिलेर धनगढीमा दक्ष इन्टरनेशनल स्कुल स्थापना गरे।
कोरोना महामारीका बेला आठ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले करिब १५० विद्यार्थी अध्ययनरत छन्। बेलायती पाठ्यक्रमअनुसार पीजीदेखि कक्षा ५ सम्म अध्यापन गरिरहेको विद्यालयमा करिब साढे दुई करोड रुपैयाँ लगानी भएको छ। विद्यालयलाई प्लस टुसम्म विस्तार गर्ने योजना रहेको ऐर बताउँछन्। उनका अनुसार घोकन्ते शिक्षाभन्दा प्रयोगात्मक सिकाइमा जोड दिएकै कारण विद्यालयले छोटो समयमै राम्रो विश्वास जित्न सफल भएको हो।

विद्यालयमार्फत अहिले १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। “आफू मात्र सफल हुने होइन, अरूलाई पनि अवसर दिनुपर्छ भन्ने सोचले काम गरिरहेको छु,” उनी भन्छन्।
शिक्षा क्षेत्रमा मात्र सीमित नभई ऐरले गत वर्ष काठमाडौंको शंखमूल करिडोरमा ११:११ क्याफे एन्ड कारवास सञ्चालनमा ल्याएका छन्। करिब डेढ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको क्याफेमा आकर्षक डिजाइनसँगै गुणस्तरीय परिकार उचित मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस क्याफेमार्फत थप १७ जनाले रोजगारी पाएका छन्।

व्यवसाय विस्तारको योजनाअन्तर्गत उनले भारतको मध्यप्रदेशस्थित इन्दौरमा करिब ४० लाख रुपैयाँ लगानीमा नेपाली मःम रेष्टुरेन्ट सञ्चालन गर्ने तयारीसमेत गरिरहेका छन्। अधिकांश नेपालीलाई रोजगारी दिने उद्देश्यसहित आवश्यक पूर्वतयारी पूरा भइसकेको उनले जानकारी दिए।
यससँगै धनगढीमा आफ्ना बुवा खड्कसिंह ऐरसँग मिलेर रियल स्टेट व्यवसायमा पनि उनी सक्रिय छन्। करिब दुई बिघा जग्गा १० करोड रुपैयाँमा खरिद गरी प्लटिङको कामसमेत अघि बढाइएको छ।
विदेशमा भविष्य खोज्ने युवाको भीडबीच आशिष ऐरको यात्रा भने फरक छ। अवसरको खोजीमा विदेश पुगे पनि अन्ततः आफ्नै देशमा फर्किएर उद्यम, रोजगारी र शिक्षामार्फत योगदान दिने उनको सोच धेरै युवाका लागि प्रेरणादायी बनेको छ।




