८ श्रावण २०८३, शुक्रबार

अनसनस्थलमै विवाद : धर्मशाला खाली गर्न डा. केसीलाई व्यवस्थापन समितिको पत्र



धनगढी/ धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह गरिरहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न व्यवस्थापन समितिले औपचारिक पत्र दिएको छ। समितिले अनसनका लागि पूर्वस्वीकृति नलिइएको र धार्मिक संस्थामाथि विभिन्न पक्षबाट दबाब परेको भन्दै स्थान छाड्न आग्रह गरेको हो।

व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र बुझाइएको पुष्टि गरे। उनका अनुसार डा. केसी बसोबासका लागि धर्मशाला आएको जानकारी गराए पनि पछि त्यहीँबाट अनिश्चितकालीन सत्याग्रह सुरु गरिएको थियो।

अध्यक्ष पन्तले धार्मिक संस्थामा अनसन सञ्चालन गर्न दिएको भन्दै आफूहरूमाथि विभिन्न पक्षबाट दबाब बढेपछि धर्मशाला खाली गर्न अनुरोध गरिएको बताए। तर दबाब दिने पक्षको नाम भने उनले खुलाउन चाहेनन्।

यसअघि बिहीबार अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पनि व्यवस्थापन समितिसँग भेटेर डा. केसीलाई धर्मशालामा अनसन बस्न नदिन आग्रह गरेका थिए।

धर्मशाला खाली गर्न पत्र प्राप्त भएपछि डा. केसीको टोलीले अबको विकल्पबारे छलफल थालेको छ। डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार धर्मशालामा सत्याग्रह सुरु गर्नुअघि व्यवस्थापन पक्षलाई जानकारी गराइएको थियो। तर अहिले कुन कारणले स्थान खाली गर्न भनिएको हो भन्नेबारे स्पष्ट जानकारी नपाइएको उनले बताए।

डा. गोविन्द केसी पाँच बुँदे माग अघि सार्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा बसेका छन्। धर्मशाला व्यवस्थापन समितिको पछिल्लो निर्णयसँगै उनको सत्याग्रह कहाँबाट निरन्तरता पाउने भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार