मुख्यमन्त्री शाह जोगिए, कांग्रेसका पाँचै मन्त्री र राज्यमन्त्री हट्ने
धनगढी/ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको विवाद अन्ततः सहमतिमार्फत समाधानतर्फ पुगेको छ। दलको नेता परिवर्तनको माग गर्दै सुरु भएको हस्ताक्षर अभियानपछि विकसित घटनाक्रमले मुख्यमन्त्री तथा दलका नेता कमलबहादुर शाहको पद सुरक्षित रहने र कांग्रेसबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीहरू भने परिवर्तन हुने सहमति जुटेको छ।
शनिबार साँझ भएको छलफलमा दलभित्रको शक्ति सन्तुलन मिलाउने गरी नयाँ समझदारी बनेको स्रोतले जनाएको छ। सहमतिअनुसार मुख्यमन्त्री शाह यथावत् रहनेछन् भने कांग्रेसको कोटाबाट नियुक्त सबै पाँच मन्त्री तथा राज्यमन्त्रीलाई फिर्ता बोलाइनेछ। नयाँ मन्त्रीहरूको शपथ आइतबार गराउने तयारी गरिएको छ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार असन्तुष्ट पक्षलाई सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी दिइनेछ। यस्तै मुख्यमन्त्री शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्री पाउने समझदारी बनेको छ।
हाल कांग्रेसबाट आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट रहेका छन्। त्यस्तै सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर वम सरकारमा छन्। सहमतिसँगै उनीहरूको स्थानमा नयाँ अनुहार आउने निश्चित भएको छ।
गत साता मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउन १७ सदस्यीय दलमध्ये नौ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए। तर प्रदेशसभा सदस्य डम्मरी महता रक्षाले पछि आफ्नो हस्ताक्षर फिर्ता लिएपछि समीकरण बदलिएको थियो।
दलभित्रको विवाद समाधान गर्न नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य राजन केसी तीन दिनअघि धनगढी पुगेका थिए। केन्द्रीय नेतृत्वको पहलपछि अन्ततः नेतृत्व जोगाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने सहमति बनेको हो।




