टीकापुरमा संसदको ‘महाकुम्भ’ : संघदेखि सातै प्रदेशका सभामुख एकै थलोमा
धनगढी/ सुदूरपश्चिमको टीकापुर अब दुई दिनका लागि नेपालको संसदीय अभ्यास र विधायिकी बहसको केन्द्र बन्ने भएको छ। संघीय संसद्का दुवै सदनदेखि सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख तथा संसदको सचिवहरू सहभागी हुने अन्तरव्यवस्थापिका सम्मेलन यही जेठ २३ र २४ गते टीकापुरमा आयोजना हुँदैछ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक हुन लागेको सम्मेलनलाई संसदीय क्षेत्रको ‘महाकुम्भ’ का रूपमा हेरिएको छ। सम्मेलनले संघीयता कार्यान्वयनको अनुभव साटासाटदेखि कानुन निर्माण, बजेट प्रक्रिया, संसदको प्रभावकारिता तथा सरकारको जवाफदेहितासम्मका विषयलाई बहसको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ।
अन्तरव्यवस्थापिका मञ्चको आयोजनामा तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा हुने सम्मेलनको उद्घाटन जेठ २३ गते हुनेछ। उद्घाटन सत्रमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुभकामना मन्तव्य दिने कार्यक्रम छ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीका अनुसार सम्मेलनको मुख्य चासो कानुन निर्माणलाई प्रभावकारी बनाउने, संसद्को मर्यादा र कार्यक्षमता अभिवृद्धि गर्ने तथा सरकारलाई सदनप्रति थप उत्तरदायी बनाउने विषयमा केन्द्रित हुनेछ।
‘नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर जाने प्रवृत्तिले संसदीय अभ्यासलाई चुनौती दिएको छ,’ सभामुख भण्डारीले भने, ‘सरकारलाई सदनप्रति कसरी जिम्मेवार बनाउने भन्ने विषय सम्मेलनको महत्वपूर्ण एजेन्डा हुनेछ।’
सम्मेलनमा कानुन बनेपछि त्यसको कार्यान्वयन अवस्था मूल्यांकन गर्ने उत्तरविधायिकी परीक्षण, संघ–प्रदेश–स्थानीय तहबीचको समन्वय, डिजिटल संसद, आदर्श बजेट निर्माण प्रक्रिया तथा संसदका प्रमुख कार्यबारे विषयगत कार्यपत्र प्रस्तुत गरिनेछ।
सभामुख, उपसभामुख र संसद सचिवहरूको छुट्टाछुट्टै समूह बनाएर अनुभव आदानप्रदान तथा नीतिगत छलफल गरिने कार्यक्रम छ। सम्मेलनको अन्तिम दिन जेठ २४ गते घोषणापत्र जारी गर्दै आगामी कार्यदिशा तय गरिनेछ।
संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सबल र उत्तरदायी बनाउने उद्देश्यसहित आयोजना हुन लागेको यो सम्मेलनले संसदहरुबीचको सहकार्य र समन्वयलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ।




