कांग्रेस संसदीय दलमा हलचल : मुख्यमन्त्री शाहविरुद्ध बहुमत सांसदको अविश्वास प्रस्ताव
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध दलभित्रै असन्तुष्टि चुलिएको छ। कांग्रेसका बहुमत प्रदेशसभा सदस्यहरूले शाहलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
प्रदेशसभा सदस्य दिवानसिंह विष्टको अग्रसरतामा उक्त प्रस्ताव कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता गरिएको हो। दलभित्र नेतृत्व परिवर्तनको मागसहित दर्ता गरिएको प्रस्तावमा ९ जना सांसदले हस्ताक्षर गरेको स्रोतले जनाएको छ।
सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका कुल १८ जना सदस्य रहेका छन्। तीमध्ये सांसद प्रकाश देउवा हाल विदेशमा रहेकाले प्रस्तावमा सहभागी भएका छैनन्। बाँकी सांसदमध्ये बहुमत सदस्य प्रस्तावको पक्षमा उभिएको दाबी गरिएको छ।
अविश्वासको प्रस्ताव दर्ता भएसँगै कांग्रेसका प्रदेशसभा सदस्यहरूको बैठक जारी रहेको छ। बैठकले आगामी रणनीति, नेतृत्व परिवर्तनको प्रक्रिया तथा दलको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।
कांग्रेसभित्र लामो समयदेखि नेतृत्व शैली, सरकार सञ्चालन र संगठनात्मक समन्वयका विषयमा असन्तुष्टि बढ्दै गएको चर्चा भइरहेका बेला आएको यो कदमले सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। अब संसदीय दलको बैठकले गर्ने निर्णयले मुख्यमन्त्री शाहको राजनीतिक भविष्य र प्रदेश सरकारको समीकरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।




