बाजुराको पाण्डुसैनमा मनाइयो रोपाइँ उत्सव
बाजुरा/ बाजुराको बुढीनन्दा नगरपालिका– १० पाण्डुसैनमा मंगलबार पुस्तौदेखि जेठ १२ गते हुँदै आएको रोपाइँलाई विगतमा झै यसपटक पनि चाडपर्व मनाएजस्तै गरेर निरन्तरता दिइएको छ । रोपाइँसंगै रोपाहा र दमाहा बजाउनेलाई मासु सहितका विभिन्न पकवान पनि पकाएर खुवाइएको थियो ।

दमाहा बजाएर, रोपाइँका गीत गाउँदै, रमाउदै, खेल्दै दिउँसो ११ बजे शुरु भएको रोपाइँ साँझ ७ बजेतिर सकिएको थियो । रोपाइँ सकिदा पनि दमाहा बजाएर नाँच्दै, गाउँदै रोपाइँमा आएकाहरु घर फर्किएका थिए ।

जुम्ला राज्यका बेला तत्कालिन राजाले बाटुसेरा कैलाश देउतालाई खुसी बनाउनका लागि पाण्डुसैनको सेरामा रोपाइँ गर्नु भन्ने आदेश अनुसार त्यहाँ हरेक वर्ष जेठ १२ गते रोपाइँ हुने गरेको छ ।
स्थानीयको भनाइ अनुसार रोपाइँकै दिनमा गाउँमा रहेको बाटुसेरा कैलाश भगवानको थानमा रहेका सुनको थाल, चाँदीको हलो, जुँवामा समेत रोपाइँको हिलो लगाइने गरिन्थ्यो । भने थालमा सांकेतिकरुपमा धान रोप्ने गरिन्थ्यो । तर करिब एक सय वर्ष पहिले ती बस्तु आगलागीबाट नष्ट भएका थिए । तर अहिले पनि कैलाशको थानमा रोपाइँको हिलो राख्ने गरिन्छ र धान उमार्ने गरिएको बाटुसेरा कैलाशका धामी मदन बोहराले बताए ।
जेठ १२ गते जो जहाँ भए पनि एक परिवारको एक जना रोपाइँ गर्न आउनै पर्ने चलन पनि छ । त्यही मान्यता अनुसार सदरमुकाम मार्तडीबाट बस्ने पाण्डुसैन गाउँकी अगुवा महिला राधिका बोहरा पनि रोपाइँका लागि गाउँ पुगेकी थिइन । उनले आफूहरुले करिब १०० बोरा धान फलाउने गरेको सुनाइन ।
जुम्ली राजाले पाण्डुसैनका बोहरा मुखियालाई उत्सवका रुपमा रोपाइँ गर्न दिएको आदेश आजसम्म पनि उचित मानेर कार्यान्वयन भइरहेको बोहरा परिवारकै सदस्य तथा बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले बताए ।

रोपाइँमा बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहरालाई रोपाइँको हिलो लगाउन खोज्दै कृषक ।
उनले भने हाम्रो कुलका मुखियाका जेठा छोरा कुम्भ बोहराको खेतबाट शुरु भएको मंगलबार जेठ १२ को रोपाइँ सकिएको छ । मंगलबार पाण्डुसैनमा रहेका १२ वटै बोहरा परिवारका खेतमा रोपाइँ भएको हो । सबै परिवारको ६० पाथीका दरले बिउ लाग्ने खेत रहेका छन् ।
प्रचलन अनुसार वरपरका छरछिमेकसहित सैयौं महिला तथा पुरुषहरु आजको रोपाइँमा सहभागी भएका थिए । पूर्व वडासदस्य मनसुर लुहारका अनुसार , रोपाइँका बेला दमाहा (बाजागाजा) बजाएर विगतमा झै सुखीयाली मनाइएको थियो । पाण्डुसैन सेरामा रोपाइँ गर्नेका लागि परम्परा अनुसार नै जेठ ११ गते धानको विउ निकाल्ने गरिन्छ । भने चैत १२ मा विउ राख्ने गरिन्छ ।
माओवादीले समेत द्धन्द्धकालमा कतिपय परम्पराको अन्त्य गरेको थियो तर यो परम्परा तोड्न उनीहरुले पनि चाँसो राखेनन्,यो परम्परा राम्रो भएकोले नै निरन्तरता दिइएको होला नगरप्रमुख बोहराले बताए ।
पराम्परादेखि पाण्डुसैन सेरा नजिकै डामर खोला भएकोले सिंचाइको अभाव छैन नगरप्रमुख बोहराले भने, यहाँ पहिले कालो मार्सी धान लगाउने चलन थियो, अहिले भने जुम्ली हाइव्रिड धान रोप्ने गरिएको छ ।
हिउँदमा हिउँ पर्ने पाण्डुसैन लेकको सो जिउँलोमा असोजको अन्तिममा धान पाक्ने गर्छ, भने उत्पादन पनि राम्रै हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहनीले पाण्डुसैनको करिब ७२० रोपनी खेतमा हुने गरेको रोपाइँ बाजुराको पहिलो रोपाइँ भएको बताए । उनले सो क्षेत्र बाजुरामै राम्रो धान उत्पादन हुने क्षेत्र भएको बताउदै प्रतिरोपनी ६० किलोसम्म धान फल्ने बताए । बाजुरामा सात हजार पाँच सय हेक्टरमा रोपाइँ हुने गरेको छ ।



तस्बिरसौजन्य : नारायणदत्त उपाध्याय




