१० जेष्ठ २०८३, आइतबार

रक्सी र पैसाको नाटक गरेर मिडियामाथि प्रहार




काठमाडौ/ सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा फैलाइएको एउटा भ्रमपूर्ण कथाले अहिले पत्रकारिता, राजनीति र कूटनीतिक सम्बन्धसमेत तानिएको संवेदनशील बहस जन्माएको छ । नक्कली फोन संवाद, कार्यालयको गेटमा छाडिएको रक्सी र नगद, अनि त्यसलाई आधार बनाएर तयार पारिएको कथाले केवल एउटा पत्रिकालाई बदनाम गर्ने प्रयास मात्र होइन, नेपालको भूराजनीतिक संवेदनशीलतालाई समेत खेलवाड बनाउने संकेत दिएको छ ।

शुक्रबार बिहान चिनियाँ नम्बर प्रयोग गरेर आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधान सम्पादक किशोर श्रेष्ठलाई फोन गरिएको थियो । आफूलाई “यिङ” भनेर चिनाउने व्यक्तिले बेइजिङबाट सम्पर्क गरेको दाबी गर्दै पूर्व गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङविरुद्ध समाचार लेख्न आग्रह गरेको स्रोतको भनाइ छ । त्यसबापत १० लाख रुपैयाँसम्म दिन सकिने प्रस्तावसमेत गरिएको थियो ।

तर जनआस्थाको तर्फबाट सो प्रस्ताव तत्काल अस्वीकार गरिएको छ । फोनमा नै यस्तो गतिविधि स्वीकार्य नहुने स्पष्ट सन्देश दिइएको थियो । त्यसपछि घटनाले अर्को मोड लियो । केही समयपछि एक युवतीमार्फत् सानेपा–ठाडोढुंगास्थित कार्यालयको गेटमा रक्सीको बोतल र ५० हजार रुपैयाँ छाडिएको बताइएको छ । अहिले त्यही दृश्यलाई आधार बनाएर सामाजिक सञ्जालमा अनेक कथा निर्माण गरिँदैछ ।

घटनाको मूल तथ्य भने फरक देखिन्छ । न त जनआस्थाले रकम मागेको थियो, न कुनै लेनदेन स्वीकारिएको थियो । उल्टै, फोन गर्ने र सामान छाड्ने काम एउटै योजनाबद्ध समूहले गरेको आशंका बलियो बन्दै गएको छ । प्रहरी अनुसन्धान अघि बढ्न थालेपछि सम्बन्धित सामाजिक सञ्जाल एकाउन्टहरू डिएक्टिभेट गरिनु र थप भ्रम फैलाउने प्रयास जारी रहनुले पनि घटनालाई शंकास्पद बनाएको छ ।

यस प्रकरणमा सबैभन्दा गम्भीर पक्ष भनेको चीनको नाम जोडेर बनाइएको कथानक हो । कुनै पनि प्रमाणबिना मित्रराष्ट्रलाई विवादमा तान्ने र सत्तारूढ दलका सांसदलाई चीनविरोधी रूपमा चित्रित गर्ने प्रयासले दीर्घकालीन रूपमा नेपाल–चीन सम्बन्धमै असर पार्न सक्छ । क्षणिक राजनीतिक वा व्यक्तिगत स्वार्थका लागि यस्ता संवेदनशील विषयलाई प्रयोग गर्नु सामान्य खेल होइन ।

जेनजी आन्दोलनताका सुधन गुरुङको गतिविधिलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए । स्वतन्त्र तिब्बत पक्षधर समूहसँग उनको सम्बन्ध रहेको चर्चा पनि चलेको थियो । अहिले त्यही पुरानो प्रसंगलाई आधार बनाएर “नक्कली चिनियाँ पात्र” खडा गरिएको र त्यसमार्फत् मिडियालाई विवादमा तान्ने प्रयास भएको बुझ्न कठिन छैन ।

एउटा स्थापित सञ्चारमाध्यमलाई बदनाम गर्न खोजिएको यो घटनाले अन्ततः नेपालको कूटनीतिक सन्तुलन, छिमेकी सम्बन्ध र पत्रकारितामाथिको विश्वासमै चोट पुर्याउन सक्छ । मिडियाको काँधमा बन्दुक राखेर आफ्ना स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्ति अन्ततः निकै महँगो साबित हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार