बेल्जियमको नागरिकता त्यागेर नेपालमा औषधि उद्योग, श्रेष्ठको लक्ष्य– आत्मनिर्भर स्वास्थ्य क्षेत्र
काठमाडौं/ औषधि उद्यमी तथा ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले विदेशको सुविधा र नागरिकता त्यागेर नेपालमै स्वास्थ्य क्षेत्रमार्फत योगदान दिने उद्देश्यसहित औषधि उद्योग स्थापना गरेको बताएका छन्।
“स्वास्थ्य र राष्ट्रका निम्ति एक संकल्प” भन्ने नारासहित बेल्जियमको नागरिकता त्यागेर नेपाल फर्किएको उल्लेख गर्दै उनले स्वदेशमै औषधि उत्पादन विस्तारमा आफू लागिरहेको बताए।
श्रेष्ठका अनुसार कम्पनीले हाल ५० भन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेको छ भने चालु आर्थिक वर्षभित्र उत्पादन संख्या ७० पुर्याउने लक्ष्य राखिएको छ। मुटु, मधुमेह, ग्यास्ट्रिक तथा मिर्गौलासम्बन्धी रोगका औषधिमा नेपाल क्रमशः आत्मनिर्भर बन्दै गएको उनको दाबी छ।
उनले नेपालको कुल औषधि बजारमध्ये करिब ४५ प्रतिशत हिस्सा स्वदेशी उत्पादनले धानेको जानकारी दिँदै बाँकी औषधि विदेशबाट आयात भइरहेको बताए। राज्यले स्वदेशी उद्योगलाई प्रोत्साहन गरे आयात प्रतिस्थापन सम्भव हुने उनको भनाइ थियो।
क्यान्सर रोगका औषधि नेपालमै उत्पादन हुन नसकेको उल्लेख गर्दै श्रेष्ठले त्यसका लागि अत्याधुनिक प्रविधि, ठूलो लगानी र सरकारी सहकार्य आवश्यक पर्ने बताए। सरकारले नीतिगत सहजीकरण गरे निजी क्षेत्र यस्तो उत्पादनमा लगानी गर्न तयार रहेको उनले बताए।
उनले औषधि उद्योगलाई प्राथमिकता प्राप्त उद्योगको मान्यता दिनुपर्ने, स्वदेशी उत्पादनलाई संरक्षण गर्नुपर्ने तथा आयातित औषधिमा उपयुक्त भन्सार नीति लागू गर्नुपर्ने माग पनि गरे।
नेपालबाट औषधि निर्यात गर्दा नीतिगत र व्यवहारिक समस्या रहेको उल्लेख गर्दै उनले विशेषगरी भारततर्फ निर्यातमा कठिनाइ हुने बताए। यद्यपि आगामी दिनमा युरोप, अफ्रिका र मध्यपूर्वका बजारमा नेपाली औषधि पुर्याउने तयारी भइरहेको जानकारी दिए।
श्रेष्ठका अनुसार ओम मेगाश्री फार्मास्युटिकल्समा हाल करिब २०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। आगामी तीन वर्षभित्र यो संख्या ४०० भन्दा बढी पुर्याउने लक्ष्य कम्पनीले लिएको छ। उद्योगमा हालसम्म करिब डेढ अर्ब रुपैयाँ लगानी भइसकेको उनले बताए।
व्यवसायीलाई सम्मानजनक र स्थिर वातावरण आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले अनिश्चित नीति र अनावश्यक त्रासले उद्यमशीलतामा असर पुग्ने बताए। “व्यवसायीलाई रेड कार्पेटभन्दा पनि काम गर्न सहज वातावरण चाहिएको हो,” उनले भने।
राज्य, निजी क्षेत्र र नीतिनिर्माताबीच प्रभावकारी सहकार्य हुन सके नेपाल औषधि उत्पादनमा आत्मनिर्भर मात्र नभई निर्यातमुखी राष्ट्र बन्न सक्ने विश्वास उनले व्यक्त गरे।
(ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका अध्यक्ष श्रेष्ठसंगको कुराकानीमा आधारित समाचार )




