नैतिक दबाबपछि गृहमन्त्री गुरुङले गरे राजीनामा
काठमाडौ/ गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी गरेको तथा सेयर कारोबारमा संलग्न रहेको विषय सार्वजनिक भएपछि चौतर्फी आलोचना बढेपछि उनले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामाबारे जानकारी दिँदै गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूविरुद्ध उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। उनले गृह मन्त्रालयको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको दाबी गर्दै सार्वजनिक पदमा बसेकाले नैतिक उत्तरदायित्व स्वीकार गर्नु आवश्यक ठानेको उल्लेख गरेका छन्।
उनले पदभन्दा माथि नैतिकता र जनविश्वास हुने बताएका छन्। देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश आफूले आत्मसात् गरेको उनको भनाइ छ।
गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेका छन्। पदमा बसेर अनुसन्धान हुँदा स्वार्थको द्वन्द्व देखिन सक्ने भएकाले त्यसलाई टार्न राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।
उनले वर्तमान सरकार सहिद र आन्दोलनकारीको बलिदानबाट बनेको स्मरण गराउँदै त्यसमाथि प्रश्न उठेमा जवाफ नैतिक आचरणबाट दिनुपर्ने बताएका छन्। सोही कारण आजकै मितिबाट लागू हुने गरी गृहमन्त्री पद त्यागेको उनको भनाइ छ।
राजीनामासँगै उनले सञ्चारकर्मी, युवापुस्ता र आम नागरिकलाई पनि सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्। साथै केही सञ्चारकर्मीको सेयर स्वामित्वबारे पनि समयक्रममा तथ्य बाहिर आउने टिप्पणी गर्दै उनले परिवर्तन चाहनेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने बताएका छन्।




