लगातार सात पटक जितेको कांग्रेसको ‘किल्ला’ ढल्यो, डडेल्धुरामा रास्वपाका डा. जोशी विजयी

डडेल्धुरा / लामो समयदेखि नेपाली कांग्रेसको बलियो गढ मानिँदै आएको डडेल्धुरामा यसपटक नयाँ राजनीतिक अध्याय सुरु भएको छ। करिब तीन दशकभन्दा बढी समयपछि यहाँबाट संसदमा नयाँ अनुहार पुगेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जिल्लामा कुल ४५ हजार ९०९ मत खसेको थियो। निर्वाचनमा नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले दुई हजार ३१६ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिंह मालले छ हजार ४३८ मत पाएका छन्।
डडेल्धुरामा २०४८ सालदेखि लगातार नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुँदै आएका थिए। सात वटा निर्वाचनसम्म देउवाको निरन्तर जितका कारण यो क्षेत्र कांग्रेसको ‘किल्ला’का रूपमा चिनिन्थ्यो। यसपटक भने देउवा उम्मेदवार नबनेपछि यहाँको राजनीतिक समीकरण परिवर्तन भएको हो।
नव निर्वाचित सांसद डा। जोशीको राजनीतिक यात्रा पनि उतारचढावपूर्ण रहँदै आएको छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेका थिए तर पराजित भएका थिए। २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि उनी कांग्रेसका तत्कालीन जिल्ला सभापति कर्ण मल्लसँग झिनो मतान्तरले पराजित भएका थिए।
एमाले विभाजनपछि जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०मा आबद्ध भएका थिए। तर २०७९ सालको प्रदेशसभा निर्वाचनमा उक्त पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बने। कांग्रेसबाट विद्रोह गरी विपी कांग्रेसमा लागेका कर्ण मल्लको समर्थनमा उनले कांग्रेसका उम्मेदवार गोबिन्दराज बोहरालाई करिब २०० मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा जित हासिल गरेका थिए।
शिक्षण पेशासँग पनि आबद्ध रहेका जोशीले भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक सम्बन्ध विषयमा पूर्ण छात्रवृत्तिमा विद्यावारिधि गरेका छन्।
२०५१ सालमा एमाले डडेल्धुरा–काठमाडौं सम्पर्क मञ्चको सदस्यबाट सक्रिय पार्टी राजनीतिमा प्रवेश गरेका जोशी क्रमशः जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला कमिटी सचिव र २०६९ सालमा जिल्ला अध्यक्षसमेत बनेका थिए।




