२३ फाल्गुन २०८२, शनिबार

अछाम १ मा रावललाई ५२८ मतले हराउदै स्वाँर विजयी




धनगढी/अछाम क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसका भरतकुमार स्वाँर ५२८ को झिनो मतले प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

उनले नेपाली नेकपाका बरिष्ठ नेता भीमबहादुर रावललाई पराजीत गरेका हुन ।

स्वाँरले १० हजार ७५८ मत पाउदा रावलले १० हजार २३० मत पाए । सो क्षेत्रमा एमालेका दीपकबहादुर साउँद तेस्रो भएका छन् । उनले सात हजार ३८६ र रास्वपाका ओमप्रकाश रावलले एक हजार ७३७ मत प्राप्त गरे ।

स्वाँर २०७२ को निर्वाचनमा रावलसँग पराजीत भएका थिए । यस्तै साउँद नेकपा (माओवादी केन्द्र) का रुपमा २०७० को संविधान सभा निर्वाचनमा रावलसँगै पराजित भएका थिए ।

रावलले २०४८ मा नेपाली कांग्रेसका नेता बलबहादुर कुँवर र २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर शाहसँग पराजित हुनु भएका थिए ।

रावल २०५१, २०७० र २०७४ मा एमालेबाट चुनाव जितेका थिए भने २०६४ मा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए ।

स्नातकसम्मको अध्ययन गरेका स्वाँर यसअघि २०४९ सालमा जिल्ला विकास समिति अछामको सभापति भएका थिए । उनी नेपाली कांग्रेसको जिल्ला सभापति समेत भइसकेका छन् ।

स्वाँर हालै सम्पन्न कांग्रसको विषेश महाधिवेशनमा समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार