१८ फाल्गुन २०८२, सोमबार

सुदूरपश्चिममा ठूला दलमा ४१–६० वर्षका उम्मेदवारको बर्चस्व




धनगढी/ युवाको माग बढीरहेको बेला सुदूरपश्चिमबाट प्रतिनिधि सभाको निर्वाचनमा ४० वर्षमुनीका उम्मेदवार कम रहेको पाइएको छ । ठूला चार दलले उठाएका ७३ प्रतिशत उम्मेदवारहरु ४१ देखि ६० वर्ष उमेर समूहका रहेका छन् । संविधानतः २५ वर्ष पूरा भएको नेपाली नागरिक उम्मेदवार पाउने व्यवस्था छ ।

निर्वाचन आयोगको तथ्याङ्क हेर्दा सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६४ जना उम्मेदवारको उमेर समूह हेर्दा ७३ दशमलव ४ प्रतिशत अर्थात ४७ जना ४१ देखि ६० वर्ष उमेर समूहका छन् । १२ दशमलव ५ प्रतिशत अर्थात आठ जना उम्मेदवार ३१ देखि ४० वर्ष उमेर समूहका छन् । यस निर्वाचनमा ४ दशमलव ७ प्रतिशत अर्थात तीन जना ३० वर्ष मूनिका र नौ दशमलव ३ प्रतिशत अर्थात छ जना ६० देखि ७० वर्ष उमेर समूहका छन् ।

३० वर्षमुनीका उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर २ मा उम्मेदवार केपी खनाल २६ वर्ष, अछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार ओमप्रकाश रावल २७ वर्ष र अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार भुपदेव शाह ३० वर्षको छन् ।

३१ देखि ४० वर्ष उमेर समूहमा रास्वपाबाट बाजुराबाट ३३ वर्षीय हेमराज थापा, बझाङमा ३८ वर्षिय शैलेशकुमार विष्ट, कैलाली क्षेत्र नम्बर ३ मा ३९ वर्षीय जगतप्रसाद जोशी, कञ्चनपुर क्षेत्र नम्बर २ मा दीपकराज बोहरा, क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महता छन् । नेकपाबाट कैलाली क्षेत्र नम्बर २ मा ३९ वर्षिय नन्दबहादुर साउँद, कञ्चनपुर २ मा ३९ वर्षीय माधवप्रसाद पन्त र एमालेबाट डोटीमा ३२ वर्षिय दीपक धामी छन् ।

सबैभन्दा बढी उमेर समूहमा अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावल र नेपाली कांगे्रसका उम्मेदवार भरतकुमार स्वाँर दुवै जना ७० वर्षको छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानबहादुर सुनार पनि ७० वर्षको छन् । डोटीबाट नेपाली कांगे्रसका उम्मेदवार भरतबहादुर खडका ६८ वर्षको छन् ।

कैलाली ४ का उम्मेदवार लेखराज भट्ट ६६ वर्ष, अछाम क्षेत्र नम्बर २ मा नेपाली कांगे्रसका उम्मेदवार पुष्पबहादुर शाह र बलबहादुर कुँवर दुवै जना ६४ वर्षको छन् । कञ्चनपुर क्षेत्र नम्बर २ मा नेपाली कांगे्रसका उम्मेदवार नारायणप्रकाश साउद ६३ वर्षको छन् । अछाम क्षेत्र नम्बर २ का कँुवरबाहेक ६० नाघेका सबै उम्मेदवार यसअघि संसदमा पुगिसकेका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ का मानबहादुर सुनार २०७४ सालमा सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित छन् ।

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा २०६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ । १८ जना महिला उम्मेदवार रहेकोमा ठूला दल नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर क्षेत्र नम्बर १ मा वीना मगर र राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली क्षत्र नम्बर १ मा कोमल ज्ञवालीलाई उम्मेदवार उठाएको छ ।

मुख्य दल कांग्रेस, एमाले, र नेकपामा ४० वर्षमुनीकाले उम्मेदवार हुन दावेदारी नै कम गरेकाले उम्मेदवार बन्न नपाएको ती दलले बताएका छन् । भने कांग्रेसमा कैलाली क्षेत्रनम्बर ४ मा लोकराज पाण्डे आगो र कैलाली क्षेत्रनम्बर ५ का केशव मिश्रले बलियो दाबेदारी गर्दा पनि उम्मेदवार हुने अवसर पाउनु भएन । मिश्रले भन्नुभयो, कैलालीका पुराना पुस्ताकाले मलाई पत्याएनन र उम्मेदवार हुन दिएनन् । तर पनि म कांग्रेस जिताउने अभियानमा सक्रिय भएर लागेको छु ।

एमालेले पनि कञ्चनपुर क्षेत्र नम्बर १ बाट ३५ वर्षीया कमला बोहरालाई पाइसकेको टिकटबाट बञ्चित गरेको थियो ।
एमालेका प्रदेश सचिव रणबहादुर चन्द उम्मेदवार बन्ने कुरा हरेक क्षेत्रबाटै सिफारिस भएर आएको र सिफारिस भएकैबाट उम्मेदवार भएको बताउछन् । उनका अनुसार डोटीबाट ३२ वर्षका दीपक धामीको सिफारिस आएको थियो उहाँ उम्मेदवार हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार