कञ्चनपुर – १ मा तामाङको घरदैलो तीव्र, दोस्रो कार्यकालका लागि मत अपिल

पुनर्वास/ प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले दोस्रो कार्यकालका लागि मत माग्दै घरदैलो अभियानलाई तीव्रता दिएका छन्। अघिल्लो निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार बिना मगरलाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेका तामाङ यस पटक फेरि उनै मगरसँग प्रतिस्पर्धामा छन्।
गत निर्वाचनमा तामाङले २४ हजार ८९२ मत प्राप्त गरी मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका थिए। मगरले १९ हजार ३४६ मत ल्याएकी थिइन्। यस पटकको चुनावी मैदानमा नेपाली कांग्रेसका गोपी उपाध्याय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी पनि प्रतिस्पर्धामा उत्रिएका छन्, जसले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
दलहरूबीचको समीकरण फेरिए पनि आफू विकासको एजेन्डामार्फत मतदाताको विश्वास जित्ने तामाङको दाबी छ। सोमबार पुनर्वास–१ को बलभद्र बस्तीमा आयोजित घरदैलो कार्यक्रममा उनले पहिलो कार्यकालमा सम्पन्न तथा अघि बढाइएका योजनाहरूको विवरण प्रस्तुत गर्दै निरन्तरताका लागि पुनः अवसर दिन आग्रह गरे।
उनका अनुसार सडक सञ्जाल विस्तार, खानेपानी आयोजना सञ्चालन, सिँचाइ सुविधा विस्तार, विद्यालय पूर्वाधार सुधार तथा स्वास्थ्य सेवाको पहुँच वृद्धि उनका प्रमुख उपलब्धि हुन्। “मैले सुरु गरेका धेरै योजना कार्यान्वयनकै चरणमा छन्, ती पूरा गर्न निरन्तरता आवश्यक छ,” उनले मतदातासँग भने।
२०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा उठाएका विकास एजेन्डालाई संघीय सांसदका रूपमा पनि अघि बढाएको उनले उल्लेख गरे। क्षेत्रको दीर्घकालीन विकासका लागि कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र साना तथा मझौला उद्योग विस्तारमार्फत रोजगारी सिर्जना गर्ने योजना उनले सार्वजनिक गरेका छन्।
घरदैलो अभियानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै तामाङले आफ्नो कार्यसम्पादन, जनसम्पर्क र विकासका ठोस आधार नै जितको मुख्य आधार हुने विश्वास व्यक्त गरे। उनले कञ्चनपुर–१ लाई आत्मनिर्भर र समृद्ध क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आफू मैदानमा उत्रिएको बताए।




