दुबईबाट डा. भीमबहादुर रावलका बारेमा भावुक टिप्पणी

नमस्ते सबैमा
डा. भीमबहादुर रावलका सन्दर्भमा आफ्नो मनमा लागेको कुरा सामाजिक संजालमा व्यक्त गर्न खोजेको पहिलो पटक हो। उहाँको बारेमा लेख्ने उपयुक्त समयको पर्खाइमा रहे । देशमा दुई प्रमुख ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले ) को सरकार बनेको समयमा उहाँको बारेमा चर्चा गर्न उपयुक्त हुन्छ भन्ने लाग्यो । अनि संविधान संसोधनको परिचर्चा सुरु भएको वेला डा. भीमबहादुर रावलको बारेमा चर्चा गर्नु सान्दर्भिक हुन्छ भन्ने मेरो बुझाइ हो । यतिबेलाको समय उहाँको बारेमा छलफल गर्ने र उहाँ जत्तिको विद्वान राष्ट्रवादी नेताको खोजी गर्ने उपयुक्त समय हो ।
पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलको राजनीतिक विचारसँग मेरो टाढाको पनि साइनो छैन । उहाँ मुलुक हाकीसकेको कुनै बेलामा नेकपा एमालेका शक्तिशाली उपाध्यक्ष नेपाली राजनीतिमा वाम पृष्ठभूमिका जब्बर नेता । म चाहिँ नेपाली । तर भीमबहादुर रावल अछामी हुनुहुन्छ , सुदूरपश्चिमको हुनुहुन्छ त्यस हिसाबले उहाँसँग भौगोलिक नाता हुँदा उहाँ हाम्रो नजिकको ठुलो नेता हो ।
राजनीतिक र बैचारिक हिसावले निकट नभए पनि भौगोलिक निकटता चाहिँ पक्का छ । साँच्चै भन्नुपर्दा पहिलो परिचय मोतीलाल बोहरा अछामको दोस्रो भीमबहादुर रावलसँग जोडिएको छ । मुलुकमा पूर्वपश्चिम जता जादा पनि घर अछाम हो भनेपछि सर्वसाधारणले पनि पहिले एमालेका शक्तिशाली उपाध्यक्ष हाल नेकपाका बरिष्ठ नेता भीमबहादुर रावलको नाम उच्चारण गरेको सुन्न पाइन्छ ।
अछाम भित्र केही खराब प्रवृत्तिका मानिस हरूले उहाँको दुरुपयोग पनि गरे । प्रहरी प्रशासन लगायतका सरकारी शक्ति आफू अनुकूल बनाउन उहाँको शक्ति नेपाली कांग्रेसका नेता , कार्यक्रता , समर्थक र शुभेच्छुकलाई पेल्न प्रयोग पनि भयो । इमानदार अनि निष्ठावान नेताको परिचय बनाउनु भएका रावलले आफ्नो कोर ग्रुपलाई विश्वास गर्ने कारण इमानदारीको राजनीति गर्ने उहाँले आफ्ना नजिक ठानेकाले भनेको कुरा गलत होइन भन्ने विश्वासगर्दा उहाँ प्रतिपक्षी विचार प्रति आक्रामक देखिनु भएको होला भन्ने मेरो अनुमान हो ।
उहाँ (पूर्व उपप्रधानमन्त्री रावल) का नजिक रहेको स्वाङ रच्नेहरूले एक प्रकारले मिथ्या सूचना प्रवाह गरेर मुलुक हाक्ने नेतामाथि विश्वासघात गरेका थिए । मलाई लाग्छ गलत सूचना प्रवाह गरेर साझा नेता हुन नदिन उद्दत ती विश्वासघातीहरूको बारेमा आजभोली आदरणीय रावलज्यूले थाहा पाउनुभयो होला ।
तर ती विश्वासघातीहरुलाई आधार मानेर मात्रै आजको मितिमा डा. रावलको मूल्याकंन गर्नु गलत हुन्छ । उहाँले अछाम अनि सुदूरपश्चिमका लागि गरेको योगदानको अपमान हुन्छ । हाम्रो भूगोलको प्रतिनिधित्व गरेर हक्की ,इमानदार अनि देश प्रति निष्ठावान राष्ट्रवादी राजनीतिज्ञको पहिचानको सम्मान गरेको ठानिदैन । आफ्नो योगदानका कारण उहाँले पूर्वप्रधानमन्त्री आदरणीय सभापतिज्यु शेरबहादुर देउवा , पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द , पूर्व प्रधानमन्त्री डा. केआई सिंहको हाराहारीमा आफूलाई उभ्याउनु भएको छ भन्न कन्जुस्याइँ गरिन्न ।
उहाँ शक्तिमा रहदा जहिल्यै उहाँको विरोध गरियो । उहाँको विरुद्ध धेरै स्टाटस लेख्ने मध्य म पनि पर्छु । विगतमा उहाँको विरोध र समर्थनका विच डाक्टर रावलले गरेको राम्रो कामको चर्चा हुन सकेन । जुन कुराको उहाँले जस पाउनुपर्थ्यो त्यसमा कहिले छलफल भएन । उहाँले गरेका असल कामको मैलेमाथि उल्लेख गरेको उहाँले विश्वास गरेका हरुले जनस्तरमा लिन उपयुक्त ठानेनन ।
भौतिक पूर्वाधारलार्इ मात्र बिरोध र समर्थन गर्ने होडबाजी चल्यो । भौतिक पूर्वाधार हेरेर नेताको मूल्याँकन युक्तिसङ्गत हुँदैन रहेछ भन्ने आजभोलि मलाई महसुस भएको छ । उतिबेला हामीले भौतिक पूर्वाधारलाई आधार मानेर लेख्यौ बोल्यौ । त्यसैले विगतलाई फर्केर हर्दै समिक्षा गर्दाको निष्कर्ष आजको मितिमा डा. भीम रावलप्रति सम्मान पलाएको छ । दीर्घकालीन असर अनि प्रभाव राख्ने नीतिगत पक्का काम गरेर उहाँले सुदूरपश्चिम र अछामलाई भीमबहादुर रावलले धेरै गुन लगाउनु भएको छ ।
नौ जिल्लाको प्रदेश र अछाम जिल्ला दुई निर्वाचन क्षेत्र उहाँको कारण मात्र सम्भव भएको हो ।हामीले वरिष्ठत राजनीतिज्ञ रावलको राम्रो कामको प्रशंसा गर्न पनि कन्जुस्याइँ गर्नुहुन्न । संविधान निर्माण प्रक्रियामा भीमबहादुर रावल नभएको भए अछाम पिछडिएको जिल्लामा समावेश हुने थिएन ।
केही वर्षयता पिछडिएको क्षेत्रको कोटामा सरकारी जागिरका सबै निकायमा अछामी अगाडि छन । अनि पढाइमा पिछडिएको क्षेत्रको छात्रवृत्ति कोटामा अछामीले बढी लाभ पाएका छन । त्यसैले यतिबेला संविधान संसोधनको चर्चा भैरहदा अछामसहित सुदूरपश्चिम प्रदेशका लागि काठमाडौका नीति निर्माण गर्ने थलोमा भीमबहादुर रावलको उपस्थिति आवश्यक भएको मेरो बुझाइ हो । त्यसैले उहाँलाई तारा चिन्हमा मतदान गरेर जिताउन अछाम क्षेत्र नम्बर १ का मतदातालाई म आब्हान गर्दछु ।
(अछाम घर भएका तिरुवा हाल युएईको दुबईमा छन् )




