देउवा उपचारका लागि सिंगापुर, सुदूरपश्चिम कांग्रेसमा निरासा

धनगढी/ नेपाली कांग्रेसका पूर्वसभापति तथा पाँच पटकका प्रधानमन्त्री भएका शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेसँगै प्रदेश कांग्रेसमा निराशाको छाचएको छ ।
विमानस्थल सुरक्षास्रोतका अनुसार देउवा बुधबार राति ११ः३० बजेको उडानबाट सिंगापुर गएका हुन्। उनी राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनलको स्टेरलाइज एरियामा देखिएका थिए। उनीसँग २–३ जना सहयोगीसमेत रहेको बताइएको छ।
पार्टीको विशेष महाधिवेशनपछि सभापति पद गुमाएका देउवा त्यसयता सार्वजनिक गतिविधिमा कमै देखिएका थिए। प्रतिनिधिसभा निर्वाचनमा मतदानसमेत नगर्ने चर्चा चलेको थियो।
निर्वाचन आयोगबाट आधिकारिकता नपाएपछि र सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआएपछि उनी अन्तिमपटक ‘रुख’ चिह्नबाट चुनाव लड्ने प्रयासमा थिए। तर वर्तमान सभापति गगन थापा नेतृत्वको टोलीले टिकट नदिएपछि देउवा निर्वाचन प्रक्रियाबाट बाहिरिए।
पार्टीभित्र ‘बदलिएको कांग्रेस’को नारासहित अघि बढेको नयाँ नेतृत्वले देउवालाई चुनावी अभियानमा सहभागी गराउने प्रयास गरेको दाबी गरे पनि त्यो सफल हुन सकेन। कांग्रेस प्रवक्ता देवराज चालिसे ले पूर्वसभापतिलाई अभियानमा जोड्ने पहल भइरहेको बताएका थिए। तर देउवा निकट स्रोतले भने उनले कसैको प्रचारमा नजाने स्पष्ट पारेको जनाएको छ।
देउवा पक्षको तर्क छ—नयाँ नेतृत्वले चुनावअघि देउवाको छवि प्रयोग गर्दा हार हुने भय देखाएर पार्टी नियन्त्रणमा लिएको आरोप छ, तर अहिले फेरि उनकै समर्थन खोजिनु विरोधाभासपूर्ण देखिन्छ। भोलि चुनावी परिणाम प्रतिकूल आए त्यसको दोष पनि देउवालाई नै लगाइने आशंकाले उनी मौन बसेको बुझाइ निकटवर्तीकै छ।
डडेलधुराबाट २०४८ सालदेखि लगातार सात पटक निर्वाचित भएका देउवा यसपटक उम्मेदवार बन्न नपाएपछि सार्वजनिक रूपमा निष्क्रिय जस्तै बने। उनको स्थानमा निकटस्थ युवा नेता नैनसिंह महरले टिकट पाएका छन्। देउवा यसपटक मतदानका लागि डडेलधुरा नजाने चर्चा समेत चलेको थियो।
देउवाको उपचार यात्राले केवल व्यक्तिगत स्वास्थ्यको विषय मात्र उठाएको छैनस यसले सुदूरपश्चिम कांग्रेसभित्रको मनोवैज्ञानिक अवस्था पनि कमजोर बनाएको कांग्रेस कार्यकर्ताले बताउने गरेका छन् ।




