सङ्घीयता खारेजको षड्यन्त्रप्रति सचेत रहन आग्रह : यादव

सप्तरी, फागुन/ उपेन्द्र यादव, जनता समाजवादी पार्टी नेपालका अध्यक्षले सङ्घीयता विरोधी शक्तिहरूले प्रदेश संरचना खारेज गरेर मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्।
सप्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले डाक्नेश्वरी नगरपालिका–८ पट्टीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै मधेशी समुदायलाई सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन आग्रह गरे। उनले मधेश जनविद्रोहबाट स्थापित सङ्घीयता कमजोर पार्न विभिन्न तहबाट षड्यन्त्र भइरहेको दाबी गरे।
उनका अनुसार सङ्घीयता हटाउने प्रयासले मधेशी, महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिमलगायत पछाडि पारिएका समुदायको अधिकार खोस्ने खतरा बढ्नेछ। “प्रदेश खारेज गरेर मधेशी जनतालाई फेरि गुलाम बनाउन खोजिएको छ,” उनले भने।
यादवले नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिहरूले सुरुदेखि नै सङ्घीयता नचाहेको आरोप लगाउँदै नयाँ शक्ति भन्दै उभिएको राष्ट्रिय स्वतन्त्र पार्टी सङ्घीयता र प्रदेश खारेजको पक्षमा रहेको टिप्पणी गरे। उनले मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै विगतको कामको मूल्याङ्कन गरेर निर्णय लिनुपर्ने बताए।
सप्तरीले हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेले पनि सरकारी विभेदका कारण अपेक्षित विकास हुन नसकेको यादवको भनाइ थियो। उनले गरिबी, बेरोजगारी, अशिक्षा, सडक, गुणस्तरीय शिक्षा र स्वच्छ खानेपानीको समस्या अझै समाधान हुन नसकेको उल्लेख गरे।
आफूले अघिल्लो कार्यकालमा स्वास्थ्य संस्था, शैक्षिक पूर्वाधार, सडक निर्माण लगायतका काम अघि बढाएको दाबी गर्दै उनले ती योजनालाई पूर्णता दिन निरन्तरता आवश्यक रहेको बताए। साथै कृषि विश्वविद्यालय भवन लगायतका परियोजनामा अवरोध सिर्जना भएको गुनासो पनि गरे।
आगामी निर्वाचन संविधान संशोधनमार्फत सङ्घीयतालाई थप अधिकारसम्पन्न बनाउने अवसर भएको उल्लेख गर्दै उनले उपेक्षित समुदायको भविष्य निर्धारण हुने भएकाले गम्भीरतापूर्वक मतदान गर्न मतदातासँग आग्रह गरे।
शुक्रबार डाक्नेश्वरी नगरपालिकाका विभिन्न स्थान — प्रवाह, धामी टोल, भीमपुर र बिसहरियामा आयोजित सभालाई पनि यादवले सम्बोधन गरेको पार्टीका नेताहरूले जनाएका छन्।




