८ फाल्गुन २०८२, शुक्रबार

शम्भुनाथमा उपेन्द्र यादवको आरोप: कांग्रेस–एमालेको ‘दम्भ’ले देश असहज



शम्भुनाथ (सप्तरी), फागुन / उपेन्द्र यादवले कांग्रेस–एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था सिर्जना भएको बताएका छन्।

सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरमा बिहीबार आयोजित कार्यक्रममा जनसमुदायलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले फरक विचार र सिद्धान्त भएका ठूला दल मिलेर सरकार बनाउनु नै गलत निर्णय भएको टिप्पणी गरे। उनले नेपालको राजनीतिमा कहीँ नभएको अभ्यास भइरहेको बताए।

उनले भने, कांग्रेस–एमालेको दुई तिहाइको दम्भ, जनताप्रति जिम्मेवार हुन नसक्नु, सेवा–सुविधा र सुशासन कायम गर्न असफल हुनु नै वर्तमान सरकारको मुख्य कमजोरी हो।

सप्तरी जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले अतिवाद र तानाशाही प्रवृत्तिका कारण पछिल्लो विद्रोह भएको दाबी गर्दै यसको जिम्मेवारी नेपाली कांग्रेस र नेकपा एमालेले लिनुपर्ने बताए।

मधेश जनविद्रोहबाट आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित भए पनि व्यवहारमा पूर्ण कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। उनले मतदातालाई विगतमा निर्वाचित जनप्रतिनिधिसँग विकास, योगदान र उपेक्षित समुदायका लागि गरेको कामबारे प्रश्न गर्न आग्रह गरे।

सङ्घीय शासन व्यवस्थालाई समाप्त पार्ने उद्देश्यले आफूलाई नयाँ शक्ति भन्ने समूहले जनतालाई भ्रममा पारिरहेको आरोप लगाउँदै यादवले उपलब्ध उपलब्धी जोगाउन आग्रह गरे। शोषित, उत्पीडित र पछाडि पारिएका समुदायको अधिकारका लागि संघर्ष गर्ने शक्ति जसपा नेपाल नै भएको भन्दै पार्टीलाई सुदृढ बनाउन उनले आह्वान गरे।

कार्यक्रमअन्तर्गत भगवतपुर, भंगहा, जमुवा र मोहनपुर लगायत क्षेत्रमा घरदैलो अभियान पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार