कैलाली–१ मा एमालेका न्यौपानेलाई समर्थन गर्ने नेकपा (संयुक्त) को निर्णय

टीकापुर/ नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समिति कैलालीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नरहेको अवस्थामा नेकपा (एमाले) का युवा उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने लाई समर्थन गर्ने निर्णय गरेको जनाएको छ।
जिल्ला समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा हालको राजनीतिक चुनौतीपूर्ण परिस्थितिमा राष्ट्र निर्माण र समाजवादतर्फको यात्रालाई अगाडि बढाउन समान विचार र सिद्धान्त नजिक रहेका उम्मेदवारलाई सहयोग गर्ने नीति अनुसार उक्त निर्णय गरिएको उल्लेख छ।

विज्ञप्तिमा देश अहिले निर्वाचनको माहोलमा प्रवेश गरिसकेको र विभिन्न राजनीतिक दलहरू आ–आफ्ना एजेन्डा लिएर जनतामाझ गएको उल्लेख गर्दै राष्ट्रिय पुँजीको विकास, समाजवादी दिशातर्फको अग्रसरता तथा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण सबैको साझा जिम्मेवारी भएको बताइएको छ।
त्यसैगरी, पार्टीले समानुपातिकतर्फ भने आफ्नै उम्मेदवारी कायम रहेको स्पष्ट गर्दै पार्टीसम्बद्ध मतदाता तथा कार्यकर्तालाई समानुपातिकमा आफ्नो चुनाव चिह्न ‘हथौडा’ मा मतदान गर्न र प्रत्यक्षतर्फ न्यौपानेलाई सहयोग गर्न निर्देशन दिएको छ।
जिल्ला समितिका संयोजक प्रेमलाल चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीका कार्यकर्तालाई अनुशासित र संगठित ढंगले चुनावी गतिविधिमा सहभागी हुन आह्वान समेत गरिएको छ।
यो निर्णयसँगै कैलाली जिल्ला क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धामा नयाँ समीकरण देखिने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।





