अवैध रुख कटानीमाथि छानबिन सुरु : मेयर र वडाअध्यक्षमाथि पनि अनुसन्धान

धनगढी, मंसिर १८ गते/ कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा भएको अवैध रुख कटानीबारे औपचारिक अनुसन्धान अघि बढेको छ। सामुदायिक वनमा दुई घण्टाको अवधिभित्रै १६४ वटा रुख काटेर गायब पारिएको खुलासा भएपछि डिभिजन वन कार्यालय कञ्चनपुरले विशेष टोली खटाएको हो।
डिभिजनले सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साहलाई अनुसन्धान अधिकृत तोकेसँगै मंसिर १७ गतेदेखि घटनास्थलको विस्तृत अनुगमन सुरु भएको छ। साहका अनुसार हालसम्मको नापतोलमा १३० खयर, ३३ सिसम र एक कन्जुगरेर कुल १६४ रुख काटिएको पुष्टि भएको छ। यसअघि पिपरैया सबडिभिजनले १३९ वटा रुख फेला पारेको भए पनि पुनःस्थलगत अध्ययनमा थप २५ रुख कटानी भएको पाइएको छ।
अनुसन्धानमा धेरै रुख पूर्णरूपमा गायब पारिएको र केही भने छोडेका अवस्थामा भेटिएको अधिकारीहरूले बताएका छन्। प्रारम्भिक चरणमा आशंकित व्यक्तिहरूको बयान संकलन भइरहेको छ भने धेरैलाई कारबाही प्रक्रियामा ल्याइने संकेत छ। नगरप्रमुख हेमराज ओझा, वडा नम्बर ७ का अध्यक्ष घुम्मन राना, स्थानीय उपभोक्ता समूहका पदाधिकारीलगायतसँग सोधपुछ जारी छ।
अनुसन्धान अधिकृत साहका अनुसार बिना अनुमति गरिएको यो कटानी वन ऐनको स्पष्ट उल्लङ्घन हो, र दोषीमाथि कानुनी कारबाही अनिवार्य हुनेछ।
यता, सम्भावित कलेज निर्माणका नाममा गरिएको भनिएको रुख कटानीबारे पनि प्रश्न उठेका छन्। कलेजका लागि छुट्टै जमिन उपलब्ध भएको पाइएकोले यस बहानामा वन संहार भएको आशंका बढेको छ। सबडिभिजन प्रमुख मोहनदत्त भट्टले मिलेमतोमै कटानी भएको आरोपसमेत लगाएका छन्।
उता, वडाध्यक्ष घुम्मन राना र सामुदायिक वनकी अध्यक्ष कुमारी बोहराले भने घटनाबारे आफूहरू अनभिज्ञ रहेको दाबी गरेका छन्। स्थानीयवासीहरू भने घटनामा संलग्न सबैलाई कडा कारबाही हुनुपर्ने माग गर्दै आएका छन्।




