२० वर्षभन्दा कम उमेरका किशोरीमा गर्भपतन दर स्थिर, डडेल्धुरामा चिन्ता बढ्दो

डडेल्धुरा, कात्तिक २९ गते/ डडेल्धुरामा सुरक्षित गर्भपतन सेवा लिने महिलामध्ये २० वर्षभन्दा कम उमेरका किशोरीको संख्या घट्न नसक्दा स्थानीय स्वास्थ्यकर्मी चिन्तित छन्। वर्षेनी किशोरीलाई लक्षित गर्भपतनको संख्या दोहोरिनुले जोखिम यथावत रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
स्वास्थ्य कार्यालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०८०र८१ मा सुरक्षित गर्भपतन सेवाका लागि एक हजार १९ महिलाले विभिन्न स्वास्थ्य संस्थामा धाएका थिए। तिनमध्ये ५६ जना किशोरी २० वर्षमुनिका थिए।
कार्यालय प्रमुख केशर साउदका अनुसार अहिलेको आर्थिक वर्ष २०८१र८२ मा सेवा लिने महिला संख्या १ हजार ६२ पुगेको छ, जसमा ३२ जना २० वर्षमुनिका छन्।
आमा सुरक्षा कार्यक्रमका फोकल पर्सन आशा थापाका अनुसार २० वर्ष नपुग्दै गर्भपतन गराउनुपर्ने अवस्था ‘स्वास्थ्यका दृष्टिले अत्यन्त संवेदनशील’ हो। “शारीरिक र मानसिक रूपमा परिपक्व नहुँदा थप जटिलता आउने सम्भावना धेरै हुन्छ,” थापाले भनिन्। उनका अनुसार विभिन्न जनचेतनामूलक कार्यक्रम चलाइँदै आए पनि रोकथाममा अपेक्षित उल्लेखनीय प्रगति हुन नसकेको स्थिति छ।
कार्यालय प्रमुख साउदले परिवार नियोजनका अस्थायी साधन उपलब्ध गराउन कठिनाइ बढेको बताए। आईयुसिडीसहितका केही सेवाहरु स्थायीरूपमा उपलब्ध गराउन नसकिँदा अनिच्छित गर्भ रहनुका कारण बढ्दै गएको उनको भनाइ छ।
साथै, गाउँ–समुदायमा २० वर्ष नपुग्दै विवाह हुने प्रचलन कायमै रहेकाले किशोरीले गर्भपतन गराउनुपर्ने अवस्था थपिने गरेको स्वास्थ्यकर्मीहरूको अनुभव छ।
जिल्लाभर २६ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ—डडेल्धुरा अस्पताल, अमरगढीका दुई, नवदुर्गाका चार, परशुराममा चार, आलितालमा दुई, भागेश्वरमा चार, गन्यापधुरामा छ र अजयमेरु गाउँपालिकामा चार।
तर, यिनै संस्थाले उपलब्ध गराएका तथ्यांक मात्रै पनि २० वर्षमुनिका सेवाग्राहीको संख्या ‘चुनौतीपूर्ण रूपमा’ देखिएको स्वास्थ्य कार्यालयको मूल्यांकन छ।
अवैध रूपमा गर्भपतन गराइने घटनाबारे पनि समाचार आउने गरेको उल्लेख गर्दै फोकल पर्सन थापाले वास्तविक संख्या अझै ठूलो हुनसक्ने र यसले किशोरी स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पारिरहेको बताइन्।




