२५ फाल्गुन २०८२, सोमबार

सुदूरपश्चिममा सिकाइ उपलब्धी बढाउन प्रविधिको उच्चतम प्रयोग आवश्यक




धनगढी, कात्तिक २४ गते/ सुदूरपश्चिम प्रदेशमा नौ जिल्लामा विद्यार्थीहरूको सिकाइ उपलब्धीको अवस्था निराशाजनक देखिएको छ ।

पछिल्ला केही वर्ष यता एसईई, कक्षा ८ तथा अन्य कक्षाका विद्यार्थीहरु उत्तीर्ण हुने प्रतिशतमा केही सुधार देखिए पनि अपेक्षाकृत ढङ्गले भने सुधार हुन नसकेको शिक्षा विकास निर्देशनालय डोटीले जनाएको छ ।

सुदूरपश्चिममा तीन हजार ३४३ सामुदायिक र ७४७ संस्थागत विद्यालय रहेका छन् । एसईईमा ०८० सालमा ४७ .८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा २०८१ त्यो बढेर ६१.८१ पुगेको थियो ।


सुदूरपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन डा. भवानसिंह चलाउने उत्तीर्ण प्रतिशतलाई सिकाइको उपलब्धी मान्न नसकिने बताए ।

उनले भने, उत्तीर्ण हुनाका कारण अनेक हुन सक्छन् तर सिकाई उपलव्धी कति छ त्यो महत्वपूर्ण हो, सुदूरपश्चिमको समग्र सिकाइ उपलब्धी ५० प्रतिशतको हाराहारीमा छ यो अवस्थामा सुधार हुन जरुरी छ । यद्यपी संस्थागततर्फको सिकाइ उपलब्धी ६० प्रतिशतको हाराहारीमा छ ।

शैक्षिक सत्र २०८० मा कञ्चनपुरबाट एसईई परीक्षामा झण्डै ६१.८३ प्रतिशत विद्यार्थी असफल भएका थिए । कञ्चनपुरबाट ५ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी बनेकोमा सो शैक्षिक वर्षमा ३८.१६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । शैक्षिक सत्र २०८१ मा भने कञ्चनपुरबाट ४५.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले बताए ।


वि.सं. २०७५ सालयता केही प्रतिशतका दरले विद्यार्थी उत्तीर्ण हुने क्रम बढ्दो क्रममा रहेको उहाँको भनाई थियो । तर अपेक्षा गरे अनुरूप भने यहाँका विद्यालयहरूले नतिजा ल्याउन नसकेको गिरीले बताए ।

१७५ सामुदायिक सहित २९३ विद्यालय रहेको कैलालीमा शैक्षिक उपलब्धी भने निराशाजनक नै रहेको छ । संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर भने झन् कमजोर हुँदै गएको शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख ईश्वरीप्रसाद ज्ञवाली बताए ।

विद्यालय निरीक्षक हटाइएकोले विद्यालयहरूमा गरिने अनुगमन समेत नहुँदा शैक्षिक स्तर खस्कँदै गएको उहाँको भनाई छ । पछिल्लो समय अधिकांश विद्यार्थीहरू लागु औषध दुव्र्यशनको शिकार हुन पुग्दा समेत सामुदायिक विद्यालयहरूको नतिजा खस्कँदो क्रममा रहेको उनले बताए ।

कैलालीमा शैक्षिक सत्र २०८० मा १४ सामुदायिक विद्यालय र एक संस्थागत गरेर १५ विद्यालयहरूको एसईई नतिजा शून्य आएको थियो । सो शैक्षिक सत्रमा कैलालीबाट ३०.०५ प्रतिशत विद्यार्थी मात्रै एसईई परीक्षामा उत्तीर्ण भएका थिए ।

नमुना विकास कार्यक्रम लागु भएका ८ वटा नमुना सामुदायिक विद्यालयमध्ये ६ सामुदायिक विद्यालयको नतिजा २० प्रतिशत भन्दा कम आएको थियो । जसले पनि नमुना विद्यालयमा सरकारले गरेको लगानी खेर गइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । कैलालीमा शैक्षिक सत्र २०८१ मा भएको एसईई परीक्षामा ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भने विद्यार्थीहरू न्यून मात्रामा विद्यालयमा उपस्थित हुने गरेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले सवारी साधन र बाटोको समस्याले गर्दा आवेदन फारम भर्ने मध्ये प्रतिवर्ष एसईईमा चार सय र कक्षा ८ मा छ सयको हाराहारीमा विद्यार्थीहरू परीक्षामा सहभागी नै नहुने गरेको उहाँले बताए ।

जसले गर्दा पनि यहाँको सिकाई प्रभावकारी भएको भन्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ । बैतडीमा शैक्षिक सत्र २०८० मा ३१ प्रतिशत र शैक्षिक सत्र २०८१ मा ५२ प्रतिशत विद्यार्थी एसईई परीक्षामा उत्तीर्ण भएका थिए । १२८ सामुदायिक र पाँच वटा संस्थागत विद्यालयमध्ये बैतडीमा चार वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो ।

दार्चुलामा पछिल्ला केही वर्षयता विद्यालयहरूको नतिजामा सुधार हुँदै गएको बताइएको छ । दार्चुलामा केही वर्षयता १०–१२ प्रतिशतका दरले विद्यालयहरूको नजिता सुधारोन्मुख देखिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख प्रतापसिंह धामीले बताए ।

शैक्षिक सत्र २०८१ मा दार्चुलाका ७७ विद्यालयबाट चार विद्यालयको नतिजा शून्य आएको थियो । दुई हजार १८१ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा ७६५ विद्यार्थी उत्तीर्ण भएका थिए । जहाँ चार विद्यालयको नतिजा शून्य आएको थियो । “केही राम्रो गर्न खोज्ने प्राध्यापक भएका विद्यालयमा नजिता सुधारोन्मुख भएको देखिन्छ शिक्षा शाखा प्रमुख धामीले बाँकी विद्यालयहरूमा भने सुधार हुन सकेको अवस्था देखिएको छैन ।”

सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै जाँदा दुर्गममा रहेका सामुदायिक विद्यालयहरूको नतिजा कमजोर रहेको उनले बताए ।

बाजुरामा भने, विद्यार्थीहरूको सिकाई उपलब्धी सन्तोषजनक रहेको जनाइएको छ । बाजुरामा शैक्षिक सत्र २०८१ मा ५८.७२ प्रतिशतले एसईई परीक्षा उत्तीर्ण गरेका थिए । जुन सुदूरपश्चिम प्रदेशकै उच्च दर पनि हो । शिक्षा समन्वय इकाई बाजुराका प्रमुख टीकाराम जोशी अभिभावक, शिक्षक र विद्यार्थीहरुले दायित्वबोध गरेपछि क्रमिकरुपमा शैक्षिक स्तरमा सुधार हुँदै गएको बताउछन् ।
पालिकाहरूले समय समयमा विद्यालयको अनुगमन, शिक्षक तालिम प्रदान गर्ने लगायतका कार्यहरू समेत गर्दे आएकाले बाजुरामा सिकाई उपब्धी सुधारोउन्मुख रहेको शिक्षा समन्वय इकाई बाजुरा प्रमुख जोशीले बताए ।

अछाममा सिकाइ उपलब्धि सोचे अनुरूप भने, प्रभावकारी हुन सकेको छैन । अछाममा शैक्षिक सत्र २०८० मा एसइईमा २८.८५ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । यसैगरेर, २०८१ भने ४०.७५ प्रतिशत एसईई परीक्षामा सफल भएका थिए । यद्यपि अछाममा सिकाइ उपलब्धि प्रभावकारी हुन नसक्नुमा मुख्य कारण प्रविधिको प्रयोग नहुनु, सडक समस्या लगायतले विद्यार्थीहरू विद्यार्थीहरू कक्षा कोठामा नै सहभागी नहुनु रहेको छ ।

शिक्षा समन्वय इकाइ अछामका प्रमुख अम्बादत्त जोशीले एसईईको परिक्षामा विगतका वर्षभन्दा केही सुधार हुँदै गए पनि समग्ररुपमा भने सिकाई उपलब्धी अपेक्षाकृत हुन नसकेको बताए । बझाङमा भने, विद्यार्थीको सिकाई उपलब्धीको वर्तमान अवस्था निराशाजनक देखिन्छ । शिक्षा समन्वय इकाई बझाङका सूचना अधिकारी वसन्त सिंहले गत वर्ष ३१ प्रतिशत विद्यार्थी मात्रै एसईई परीक्षामा सफल भएको बताए । डडेल्धुरा र डोटीमा पनि सिकाई उपलब्धिको वर्तमान अवस्था सन्तोषजनक देखिएको छैन ।

डडेल्धुरामा त झनै सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको शैक्षिक अवस्था दयनीय रहेको बताइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ डोटीका सूचना अधिकारी पदमबहादुर साउँदले जिल्लामा ३८५ सामुदायिक विद्यालय र ४७ संस्थागत विद्यालयमध्ये संस्थागत विद्यालयहरुको शिकाइ उपलब्धी सन्तोषजनक रहेको बताए । डोटीमा शैक्षिक शस्त्र २०८० मा १७ प्रतिशत र २०८१ मा २९ प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण भएका थिए ।

वर्षमा २२० दिनसम्म पढाई गरिनुपर्ने भए पनि सुदूरपश्चिमका विद्यालयहरूमा भने १५० देखि १५२ दिन मात्रै विद्यालय खुल्ने गरेका छन् । बन्द, हडताल, प्रदेश सरकारले दिने बिदा, स्थानीय सरकारले दिने बिदा तथा कुनै समय विद्यालयले नै दिने अनिश्चित विद्याका कारण यहाँस्थित शैक्षिक संस्थाहरूमा पाठ्यक्रम पुरा गर्ने गरेर विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठन पाठनमा स्वतः अवरुद्ध हुने स्थानीय मदन चन्दले बताए । अहिलेको बदलितो परिवेशमा समय सापेक्ष विद्यालय पाठ्यक्रम लागू गरेर पठन पाठन गरिनुपर्ने उनले बताए । विद्यालयहरुमा प्रविधिको प्रयोग गरेर प्रविधिमैत्री वातावरणमा अध्यापन गराउन सके विद्यार्थीहरु विद्यालयमा उपस्थित हुने संख्या पनि बढ्ने भएको प्रविधिको उच्चतम प्रयोग गरिनुपर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख लोकेन्द्र भट्ट सिकाई उपलब्धी बढाउन प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षकले विशेष ध्यान दिनुपर्ने बताउछन् ।

उनले प्रदेश सरकारले सिकाइ उपलव्धी बढाउन शिक्षकलाई क्षमता अभिवृद्धि तालिम, विषयगत र पाठ्यक्रम अनुसारको तालिम प्रदान गरिरहेको, सीमित स्रोत साधनका बाबुजद् पनि केही विद्यालयलाई प्रविधिको प्रयोगका लागि सहयोग गरिरहेको बताए ।

(अनुमोदन खबर डटकमका प्रधान सम्पादक शाह, शिक्षा क्षेत्रमा कलम चलाउछन्, उनी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०६२ बाट समेत सम्मानित भइसकेका छन् । )

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार