१८ मंसिर २०८२, बिहीबार

कांग्रेसको केन्द्रीय समिति आज बस्दै, देउवा आक्रमणपछि पहिलोपटक सार्वजनिक हुँदै




काठमाडौँ, असोज २८/ नेपाली कांग्रेसले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिबारे मूल्यांकन गर्दै आगामी रणनीति तय गर्न केन्द्रीय कार्यसमितिको बैठक आज बसाउँदैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुने तय भएको छ।

विशेष ध्यानको विषय भने पार्टी सभापति शेरबहादुर देउवाको सहभागिता हो। जेनजी आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित उनको निवासमा आक्रमण र आगजनी भएपछि लामो समय सार्वजनिक रूपमा नदेखिएका देउवा आज पहिलो पटक पार्टी बैठकमा सहभागी हुँदैछन्। उनी हालसम्म उपचारपछिको विश्राममा थिए।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई बोलाइएको छ।

बैठकअघि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ, जसमा केन्द्रीय समितिमा पेश गरिने साझा एजेन्डा तय गरिनेछ। तर यो साझा एजेन्डा अझै पूर्ण रूपमा टुंगो लागेको छैन।

कारण – कांग्रेसभित्रको आन्तरिक मतभेद। विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंसिर महिनाभित्रै १५औं महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने अडानमा छन्, तर संस्थापन पक्ष भने यसमा सहमत हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार