एमाले बैठकमा अष्टलक्ष्मी शाक्यद्वारा अध्यक्ष ओलीको राजीनामा माग

काठमाडौं, असोज २४ गते/ नेकपा (एमाले) को जारी ५८औँ सचिवालय बैठकमा पार्टी नेतृत्वको भूमिकाबारे गम्भीर बहस सुरु भएको छ। शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भएको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीसँग राजीनामाको माग गरेकी छन्।
एक नेताका अनुसार शाक्यले हालका युवा आन्दोलनहरूको सन्देशलाई बुझ्न नेतृत्वमा परिवर्तन अपरिहार्य भएको भन्दै ओलीले पदबाट ससम्मान राजीनामा दिनुपर्ने धारणा राखेकी हुन्।
युवाको आवाजलाई आत्मसात् गर्न अध्यक्ष ओलीले बाटो खुला गर्नुपर्छ, उपाध्यक्ष शाक्यको भनाइ उद्धृत गर्दै जानकारी दिए।
अधिकांश नेताहरूले भने अध्यक्षको राजीनामाभन्दा व्यापक नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याएका छन्।
शुक्रबार साढे छ घन्टा लामो बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादलु गुरू बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले समेत धारणा राखेका छन्।
पार्टी यथास्थितिमा चल्न नसक्ने साझा धारणा
बैठकमा भाग लिएका नेताहरूका अनुसार, यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने धारणा साझा रूपमा प्रस्तुत भएको छ।
पार्टीलाई आम रूपमै पुनर्गठन गर्नुपर्ने आवाज बलियो छ, एक नेताले भने, नेतृत्वको मोडेल र कार्यशैलीमा परिवर्तन आवश्यक छ भन्ने सहमति बनिरहेको छ।
बैठक शनिबार पनि जारी रहनेछ। सचिवालयका अन्य सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम बाँकी नै छ।




