सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई विश्व स्वास्थ्य सङ्गठनको प्रतिष्ठित सम्मान

तस्बिर : सिस्नेरी स्वास्थ्य चौकी, मकवानपुर
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका लाखौं महिला स्वास्थ्य स्वयंसेवीकाहरू (एफसीएचभी) हरुलाई उनीहरूको दशकौंदेखिका अथक सेवा र समर्पणलाई सम्मान गर्दै दक्षिण-पूर्वी एसिया क्षेत्रको ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । यो प्रतिष्ठित सम्मान नेपालका एफसीएचभीहरूले सामूहिक रूपमा प्राप्त गरेका कुरा सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयले हिजो एक प्रेस विज्ञप्ति जारी गरि बताएको हो ।
डब्ल्यूएचओले घोषणा गरे अनुसार, उनीहरूको सामुदायिक भूमिकाले नेपालको स्वास्थ्य प्रणालीको रूपरङ्ग नै बदलेको र नेपालको अत्यन्त दुर्गम भू-भागहरूमा समेत मातृ तथा शिशु स्वास्थ्य, सरुवा रोग नियन्त्रण, खोप र पोषणजस्ता क्षेत्रहरूमा रुपन्तारणकारी योगदान गरेकोले उनीहरूलाई यो सम्मान दिइएको हो ।
मातृ-शिशु मृत्युदरमा ठूलो गिरावट एफसीएचभीहरूको अथक प्रयासको कारण नै नेपालले मातृ तथा शिशु मृत्युदरमा ऐतिहासिक गिरावट हासिल गरेको हो । तथ्याङ्कअनुसार, सन् १९९० मा प्रति एक लाख जीवित जन्ममा ९०१ जनाको मृत्यु हुने गर्थ्यो भने सन् २०२१ मा यो सङ्ख्या घटेर १५१ मा पुगेको छ । त्यस्तै, पाँच वर्षमुनिका शिशु मृत्युदर पनि सन् १९९० को प्रति हजारमा १६२ बाट घटेर सन् २०२२ मा २८ मा पुगेको छ । यसका लागि देशका गाउँगाउँमा सक्रिय भै काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरू नै मुख्य कारक हुन् ।
विश्वमै उदाहरणीय मोडेल विश्वका अन्य विकासशील देशहरूका लागि पनि अनुकरणीय मानिएको यस कार्यक्रमलाई डब्ल्यूएचओले’कम लागतमा ठूलो प्रभाव’ हुने, स्थायी, लैङ्गिक न्यायमूलक र सामुदायिक नेतृत्वमा चल्ने एक उदाहरणीय मोडेलको रूपमा चिनाएको छ । स्वयंसेवीहरूले आफ्नै समुदायमा रही स्थानीय समुदायसँगको नजिकको सम्बन्धमा स्वास्थ्य सेवालाई दोब्बर पारेका छन् ।
सम्मानित हुने अवसर यो सम्मान डब्ल्यूएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रको ७८औं समिति बैठकको अवसरमा श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा प्रदान गरिनेछ । यसै कार्यक्रममा भारतबाट अपाङ्गता भएका व्यक्तिहरूको समावेशिताका बारेका अभियन्ता डा. सतेन्द्र सिंह र कुष्ठरोगमा काम गर्ने गैरसरकारी संस्था’लेप्रा सोसाइटी’ लाई पनि यस्तै सम्मानले सम्मानित गरिनेछ ।




