सदस्यता रोकिएकी विद्यालाई एमालेकै माया !
मदन भण्डारीको ७५ औं जन्मजयन्तीमा झलमल समारोह, नेताहरूको जमघट

काठमाडौं / राजनीतिक वृत्तमा चर्चा-परिचर्चा भइरहेका बेला एमालेले सदस्यता “फ्रिज” गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारी फेरि एकपटक एमालेका धेरै नेताका साथमा एमालेकै कार्यक्रममा भए जस्तो गरेर देखिइन । त्यो पनि पार्टीको आदर्श पुरुष मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउने कार्यालय उद्घाटनको नेतृत्व गरेर !
शुक्रबार काठमाडौंमा आयोजित भव्य समारोहमा भण्डारीले उद्घाटन गरेकी यो कार्यालय अब जन्मजयन्ती कार्यक्रमको संयोजनको केन्द्र बन्नेछ। भण्डारीको हातबाट रिबन काटिएपछि, एमाले नेताहरू एकपछि अर्को गरी स्टेजमा चढे — वातावरण त मानौं चुनावकै माहोल जस्तै !

को-को थिए त कार्यक्रममा ?
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापा, थुप्रै केन्द्रीय नेताहरू, पूर्वमन्त्री, पूर्वसांसद, र सयौँको सङ्ख्यामा नेता–कार्यकर्ताहरू उपसिस्थत थिए ।


कार्यक्रममा नेताहरूले विद्याको भूमिकाको खुलेर प्रशंसा गर्दै, पार्टीप्रतिको ‘अडिग निष्ठा’ को चर्चा गरे। सदस्यता रोकिए पनि उनले पार्टीको मूल आदर्शप्रति समर्पण देखाएको भन्दै उनीप्रति पुनः सहानुभूति बढेको देखियो।
के अब विद्या एमालेमा फर्किनलागेकी त ?
यो प्रश्नले अहिले पार्टी वृत्तमा झनै तातो बहस जन्माएको छ। सदस्यता रोकिएको अवस्थामा पनि यस्तो सक्रिय उपस्थिति — संकेत बुझ्नेहरूका लागि गहिरो संकेत हो !
विद्याले भनिन एमालेमै सक्रिय हुन्छु
पूर्वराष्ट्रपति भण्डारीले आफू निरन्तर नेकपा एमालेप्रति समर्पित रहेकी बताउँदै, पार्टीको कार्यकर्ताको हैसियतमा सक्रिय रहने प्रतिबद्धता दोहोर्याएकी छन्। पार्टीबाट रोकिने प्रयास भए तापनि उनले आफ्नो सक्रियता रोक्न नसक्ने स्पष्ट पारिन् ।
सो कार्यक्रममा बोल्दै भण्डारीले जनताको बहुदलीय जनवादलाई एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको उल्लेख गर्दै, त्यसकै भावना अनुरूप काम गर्नु आवश्यक रहेको धारणा राखिन् । साथै, उनले पार्टीको गतिविधि उक्त मार्गदर्शक सिद्धान्तअनुसार अघि बढेको छ कि छैन भन्नेबारे समिक्षा आवश्यक हुने पनि औंल्याइन्।




