डोटीमा आधारभूत अस्पताल सञ्चालनमा आएनन्

डोटी/ पाँच करोड ७० लाख भुक्तानी भएको डोटीको बोगटान फुड्सिल गाउँपालिकाको–२ केदारआखडामा निर्माण भइरहेको १५ शप्याको आधारभूत अस्पतालको भवन अलपत्र परेको छ । भवन निर्माणका लागि गाउँपालिका र सिएम–प्रशन्न जेभीबीच २०७८ साल असार १८ गते सम्झौता भएको थियो ।
२०७९ साल असार २९ गते निर्माण भइसक्नु पर्ने भवनको हालसम्म १५.६३ प्रतिशत काम भएको छ । भ्याट सहित १६ करोड ८५ लाख ४२ हजार रुपियाँमा लागतमा सम्झौता भएकोमा निर्माण व्यवसायीका नाममा हालसम्म पेश्की रकम दुई करोड ९० र रनिंग विलको दुई करोड ८० लाख रुपियाँ भुक्तानी भइसकेको छ ।
गाउँपालिकाको तर्फवाट पटकपटक ताकेता गर्दा समेत निर्माण व्यवसायीले लापरवाही गरेका कारण भवन निर्माण कार्य अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष कमलवहादुर गड्सिलाले बताए ।
डोटीमा बोगटान फुड्सिल मात्र होइन अन्य छ वटा स्थानीय तहमा पाँच वर्षअघि शिलन्यास भएका आधारभूत अस्पताल अलपत्र परेका छन् ।
स्थानीय तहहरुमा आधारभूत अस्पताल सञ्चालन गर्ने उद्देश्यले २०७७ साल मंसिर १५ गते देशभरिका ३९६ वटा वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल भवनको तेतिबेला समेत प्रधानमन्त्री रहेका हालका प्रधानमन्त्री केपी शर्मा ओलीले एकैसाथ शिलान्यास भएको थिए । सोही क्रममा डोटीका सात भवनको पनि सिलान्यास भएको थियो ।
तर डोटी जिल्लाका कुनै पनि स्थानीय तहहरुमा आधारभूत अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । डोटीको पूर्वीचौकी गाउँपालिका बाहेक अन्य स्थानीय तहहरुमा भवन निर्माण कार्य समेत पूरा हुन सकेको छैन । भवन निर्माण भइसकेको पूर्वीचौकी गाउँपालिकामा पनि दक्ष जनशक्ति र आर्थिक अभावमा अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
२०८० साल असार मसान्त भित्र निर्माण पुरा हुनुपर्ने जोरायल गाउँपालिकाको १५ शप्याको आधारभूत अस्पताल भवनको हालसम्म ११ प्रतिशत काम भएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।
भवन निर्माणका लागि वराह डेभलपर्स प्रालि ९साविकको राजेन्द्र निर्माण सेवा० संग २०७८ साल साउन १९ गते सम्झौता भएको थियो । भ्याट सहित ११ करोड २१ लाख ५८ हजार रुपियाँमा सम्झौता भएकोमा हालसम्म एक करोड ९६ लाख रुपियाँ निर्माण व्यवसायीलाई पेश्की दिइएको छ ।
डोटीको केआईसिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शप्याको अस्पताल २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्नेमा सो अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको गाउँपालिकाका पुष्पराज भट्टले जानकारी दिनुभयो । भ्याट सहित आठ करोड १५ लाख ७८ हजार रुपियाँमा निर्माण गर्ने गरेर गाउँपालिका र केएस–तेडी–मनिलेक जेभीबीच २०७८ साल असार २३ गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले कुल सम्झौता रकमको १८ प्रतिशत भुक्तानी लिइसकेको छ । गाउँपालिकाले सो ठेक्का म्याद तीन पटक थप गर्यो ।
२०७८ साल असोज ४ गते सम्झौता भएर बडिकेदार गाउँपालिकामा १० शप्याको आधारभूत अस्पताल स्थापना गर्नका लागि २०७७ साल मंसिर १५ गते शिलान्यास भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै काम भएको छ । २०७९ मंसिर २९ मा निर्माण पुरा भइसक्नु पर्ने थियो, तर निर्माण भएन । भवन निर्माणका लागि धुलिखेल एलबी एण्ड एबी जयश्री बालाजी जेभीसंग सात करोड २६ लाख १९ हजार रुपियाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म निर्माण व्यवसायीले कुल ठेक्का सम्झौताको ५७ प्रतिशत रकम भुक्तानी लिएको गाउँपालिकाले जानकारी दिएको छ ।
२०८१ साल साउन ३० गते निर्माण हुनु पर्ने सायल गाउँपालिकाको आधारभूत अस्पतालको भवनमा हाल पिल्लर राख्ने काम मात्र भएको छ । १० शप्याको आधारभूत अस्पताल सञ्चालन हुने गेर निर्माण हुने भनिएको सो भवनको टिडिआर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । भ्याट सहित आठ करोड ४६ लाखमा निर्माण गर्ने भनेर २०७८ साल साउन ३० गते ठेक्का सम्झौता भएर निर्माण व्यवसायीलाई ८४ लाख रुपियाँ पेश्की रकम समेत भुक्तानी भइसकेको गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताए ।
ठेक्का सम्झौताको म्याद समाप्त भई दुई पटक म्याद थप गर्दा समेत कार्य प्रगति नभएको गाउँपालिकाले जानकारी दिएको छ । पछिल्लो पटक थप गरिएको म्याद समेत असार मसान्तमा सकिएको छ ।
२०८० असार १४ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने शर्त सहित २०७८ साल वैशाख २१ गते शिखर नगरपालिका र निर्माण व्यवसायी कम्पनी केएस कन्स्ट्रक्सन प्रालिबीच सम्झौता भएको शिखर नगरपालिकाको १५ शप्याको अस्पतालको भवन पनि निर्माणकार्य पनि भएको छैन ।
१० करोड ३० लाख सात हजारमा सम्झौता भएको सो भवनमा हालसम्म ९० प्रतिशत काम भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र शाहले बताए। भवन निर्माणका लागि स्रोत व्यवस्थापन नभएकाले निर्माणमा ढिलाई भएको नगरपालिकाको भनाई रहेको छ ।
आधारभूत अस्पताल सञ्चालन नहुँदा स्थानीयहरुले स्वास्थ्य सेवाका लागि सदरमुकाम लगायतका शहरी क्षेत्रमा धाउनु परेको छ । “हामी स्थानीयले पनि पटक पटक ठेकेदार लगायत स्थानीय सरकारका जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्दा समेत निर्माणको काम अगाडि बढ्न सकेन ।’’
डोटीको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय तथा एमालेका नेता उपेन्द्र वमले भने , –“समयमै अस्पताल भवन निर्माण हुन पाए पनि अस्पताल सञ्चालनको अन्य प्रक्रिया शुरु हुन्थ्यो होला ।’’
शिलन्यास गर्ने कार्यक्रम अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली गर्नु भएको हो, संयोगले त्यतिबेलाका प्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेल उतिबेलाकै जिम्मेवारीका साथ अहिले पनि सरकारमै हुनुहुन्छ त्यसैले यी अस्पतालको निर्माणमा उहाँहरुले विशेष पहल लिन जरुरी छ ।
यसरी जनताको करबाट उठेको पैसा खेर जान नदिने काम सरकारकै हो, सरकारले प्रभावकारी कदम चाल्नु जरुरी छ वमले भने ।




