व्यवसायिक फुटबलका योद्धा हमालको निधन, सुदूरपश्चिम खेल क्षेत्र शोकमा

धनगढी/ सुदूरपश्चिम प्रदेशमा व्यावसायिक फुटबलको जग बसाल्न अहम भूमिका निभाएका कैलालीका सुरेश हमालको ४८ वर्षको उमेरमा निधन भएको छ।
मृगौला सम्बन्धी समस्याबाट पीडित हमालको उपचारका क्रममा भारतको बरेलीमा आज निधन भएको हो। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका देवेन जोशीका अनुसार, मधुमेहका साथै मृगौला रोगले ग्रसित हमालको मृगौला प्रत्यारोपणको तयारी भइरहेकै बेला निधन भएको हो।
“भाउजु (श्रीमती) स्वयं मृगौला दान गर्न तयार हुनुहुन्थ्यो,” जोशीले जानकारी दिँदै भने, “ट्रान्सप्लान्टको अन्तिम तयारी भइरहेका बेला यो दुःखद् घटना भयो।”
हमाल सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष हुनुका साथै खप्तड गोल्डकप जस्ता प्रतिष्ठित प्रतियोगिताको सफल आयोजक पनि थिए। धनगढीमा हुने यस प्रतियोगिता सुदूरपश्चिम प्रदेशमै होइन, राष्ट्रिय स्तरमै फुटबल विकासको एउटा गतिशील मोडल बन्न पुगेको थियो।
उनकै पहलमा ‘ए’ डिभिजन क्लबहरू धनगढीमा आएर प्रतिस्पर्धा गर्न थालेका थिए। क्लबका खेलाडीलाई घरमै राखेर प्रशिक्षण दिने व्यवस्था गर्नु, आर्थिक लगानी, व्यवस्थापन र फुटबलप्रतिको समर्पणले उनलाई सुदूरपश्चिम फुटबलका अगुवा बनाएको थियो।
उनको निधनसँगै सुदूरपश्चिमको खेल क्षेत्र शोकमा डुबेको छ।
सुरेश हमालको पार्थिव शरीर भारतबाट नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ। हमालको जन्म कैलालीको भजनी नगरपालिका–५ मा भए पनि उनी लामो समयदेखि धनगढीमा बसोबास गर्दै आएका थिए।




