११ पुष २०८१, बिहीबार

एनआरएनए माल्टाले गर्यो श्रममन्त्री भण्डारी, माल्टा र नेपाली राजदूतावासमा समन्वय भेटघाट



स्पेनमा भएको विश्वकै मजदूर सम्मेलनमा नेपालबाट सहभागी हुन आएका श्रममन्त्री शरदसिंह भण्डारीको साथमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टा सहितको टीम ।


युरोप/ स्पेनमा भएको विश्वकै मजदूर सम्मेलनमा नेपालबाट सहभागी हुन आएका श्रममन्त्री शरदसिंह भण्डारी, वैदेशिक रोजगार प्रवद्धन विभागका डिजी सूर्यबहादुर खत्री र श्रम मन्त्रालयका उप–सचिव कविराज उप्रेतीलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टो स्वागत गरेको छ ।

सो अवसरमा माल्टामा रहेका नेपालीले भोग्दै आएका समस्याका बारेमा छलफल भएको थियो । छलफलका क्रममा श्रममन्त्री भण्डारीले माल्टाका नेपालीको समस्या बारे सरकार जिम्मेवार रहदै आएको र समस्या समाधानमा अग्रसर भएर काम गर्ने बताए ।

सो भेटमा एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) र उपाध्यक्ष सत्यनारायण झा लगायतको उपस्थिति थियो ।

यसैबीच गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले युरोपको स्पेनमा रहेको माल्टा र नेपाली राजदूतावास म्याड्रिडमा समन्वय भेटघाट गरेको छ । एनआरएनए माल्टाका अध्यक्ष खनाल (रेम्स) र उपाध्यक्ष झाले बुधबार समन्वय भेटभाट गरेका हुन् ।

माल्टा र नेपाली राजदूतावासमा एकैदिन समन्वय भेटघाट गरेका खनाल र झाले माल्टामा आप्रवासी नेपालीले भोग्दै आएका समस्याका बारेमा गम्भीररुपमा छलफल भएको जानकारी उपाध्यक्ष झाले दिएका छन् ।

भेटमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत यज्ञराज पौडयालले माल्टामा रहेका आप्रवासी नेपालीले भोग्दै आएका समस्याका बारेमा चासो दिएर एनआरएनए माल्टाले समस्या समाधानका लागि राम्रो पहल गर्दै आएको बताएका थिए ।

यतिबेला पनि एनआरएनए माल्टाका तपाई अध्यक्ष र उपाध्यक्ष दुबैजना माल्टामा रहेका आप्रवासी नेपालीले भोग्दै आएका समस्यालाई ल्याएर राजदूतावासमा आउनु भएकोमा खुसी लागेको छ । हामीहरु सबै मिलेर नै समस्या समाधान गर्न लाग्नुपर्ने भन्दै आप्रवासी नेपालीका समस्या समाधानमा राजदूतावास सधैं जिम्मेवार बन्दै आएको पौडयालले बताए ।

माल्टामा पासपोर्ट हराएका र म्याद गुर्जेका आप्रवासी नेपालीलाई माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गरी सजिलै पासपोर्ट उपलब्ध गराउने विषयमा महत्वपूर्ण छलपल भएको अध्यक्ष खनालले जानकारी दिएका छन् ।

भेटघापछि राजदूतावासले नोभेम्बर ३० तारीखदेखि डिसेम्बर ४ तारीखसम्म घुम्ती कन्सुलर शिविर संचालन हुने राजदूतावासको लेटरप्याडबाट आधिकारिक रुपमा दूतावासले सूचना जारी गरेको खनालले बताए ।

माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गर्नको लागि एनआरएनए माल्टाले धेरै पहिलेदेखि राहदानी विभाग नेपाल र नेपाली राजदूतावास म्याड्रिडमा निरन्तर समन्वय गर्दै आएको एनआरएन माल्टाका उपाध्यक्ष झाले बताए ।

उनले भने,“ माल्टामा रहेका नेपालीको पासपोर्ट रिनुअल गर्नको लागि सजिलो होस् भनेर माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गर्न पहल गर्दै आएका थियौं । आज दूतावासले शिविर संचालन हुने आधिकारिक नोटिस जारी गरेपछि म धेरै खुसी भएको छु ।” माल्टाबाट स्पेन दूतावासमा पासपोर्ट रिनुअल गर्न जाँदा एक लाख रुपियाँ भन्दा बढी खर्च हुने र त्यो खर्च जोगिने झा बताउछन् ।

एनआरएनए माल्टाको फेसबुक पेजबाट माल्टामा घुम्ती कन्सुलर शिविर संचालन हुने नेपाली राजदूतावासले जारी गरेको पत्र र समन्वय भेटघाट गरेको तस्बीर सार्वजनिक गरेपछि माल्टामा रहेका आप्रवासी नेपालीले खुसी व्यक्त गर्दै एनआरएनए माल्टाको कामको प्रशंसा गरेका छन् ।

फेसबुक र टिकटकमा खुसीको खबर भन्दै राजदूतावासले जारी गरेको पत्र र समन्वय भेटघाटका तस्बीर पोष्ट गरी धन्यवाद् दिईरहेका छन् ।

राहदानी विभाग नेपाल र नेपाली राजदूतावास म्याड्रिडको एकटोली आएर माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गरी सेवा प्रदान गरिने भएको छ । पासपोर्ट हराएका र म्याद गुर्जेका माल्टामा रहेका नेपालीले अन्लाईनबाटै फराम भर्न सकिने व्यवस्था गरिएको छ । थप जानकारीका लागि ३६ ७७३९६७८७, ३६ ७७७५६०५५ र ३६ ७७९४ ६०७७ मा सम्पर्क गर्न सकिने नेपाली राजदूतावासले जानकारी दिएको छ ।

झाले भने, “ नेपालबाट माल्टामा आउँने नेपालीहरुले श्रम गरेर आउने भएकोले कानूनी समस्या नहुने तर दुबई लगायत अन्यदेशबाट माल्टा आउँदा माल्टाको लागि श्रम नहुने र कानूनी समस्या झेल्नु परेको छ । श्रम सम्बन्धीको समस्या समाधानका लागि नेपाली राजदूतावास मार्फत अनलाइनबाट श्रम स्वीकृति गर्ने बारेमा उपलब्धिमूलक छलफल भएको छ ।”

आप्रवासी नेपालीलाई सजिलै सेवा प्रदान गर्ने कार्यबाहक राजदूत बुनिचीको भनाई
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) र उपाध्यक्ष सत्यनारायण झाले माल्टा राजदूतावास म्याड्रिडमा समन्वय भेटभाट गरेका छन् । माल्टा राजदूतावास म्याड्रिडका कार्यबाहक राजदूत डयानिलो बुनिचीसंग बुधबार समन्वय भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा अध्यक्ष खनाल र उपाध्यक्ष झाले राजदूत बुनिचीसंग माल्टामा आप्रवासी नेपालीले भोग्दै आएका डकुमेन्ट प्रमाणीकरणको लागि असहज भएको र माल्टा राजदूतावासले सहजीकरण गरी सजिलै सेवा प्रदान गर्नुपर्ने विषयमा छलफल भएको अध्यक्ष खनालले जानकारी दिएका छन् ।

माल्टामा विवाह भएका नेपाली जोडीको विवाह दर्ता, माल्टामा जन्मेका नेपाली बच्चाहरुको जन्मदर्ता र नेपालबाट आउने प्रहरी रिपोर्ट लगायत अन्य आवश्यक डकुमेन्टमा माल्टा राजदूतावासले प्रमाणीकरण गर्नुपर्ने एनआरएनए माल्टाका उपाध्यक्ष झाले बताए ।

डकुमेन्ट प्रमाणीकरण लागि मात्र माल्टा राजदूतावासमा अपार्टमेन्ट डेट लिनुपर्ने र एसका लागि माल्टाबाट स्पेन आउँदा जाँदा समय र खर्च धेरै लाग्ने गरेको समस्या नेपालीले भोग्दै आएको विषयमा महत्पूर्ण छलफल भएको उपाध्यक्ष झाले बताए । डकुमेन्ट प्रमाणीकरणका लागि नेपालीले भोग्दै आएको समस्याको बारेमा जानकारी गराएपछि राजदूत डयानिलो बुनिचीले सहजरुपमा सेवा प्रदान गर्ने बताए।

जसका लागि एनआरएनए माल्टाले नै डकुमेन्ट प्रमाणीकरणका लागि आउनेहरुको विवरण इमेल गरेर पठाएपछि अपार्टमेन्ट डेट नलिनुपर्ने र इमेलकै आधारमा सजिलै डकुमेन्ट प्रमाणीकरण गरिने राजदूत डयानिलो बुनिचीको भनाईलाई उद्धित गर्दै उपाध्यक्ष झाले जानकारी दिए ।

साथै भेटघाटमा पछिल्लो समयमा माल्टामा नेपालीले भोग्दै आएका समस्याका बारेमा पनि छलफल भएको उपाध्यक्ष झाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार