२९ आश्विन २०८१, मंगलवार

एलपीएलको उपाधि सत्यवतीलाई



धनगढी, मंसिर ३० गते । आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गरेको गरेको हो ।

रोमान्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको हो । धनगढी स्पोर्ट्सको ब्याटिंगमा बसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमरसिंह रौटेलाले २७ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन ।

लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो । छैठौं विकेटको लागि बसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे । भुवनको विकेट पछि सातौँ विकेटको लागि बसन्तले अमरसिंह रौटेलासँग ४३ रन जोडे। अठारौं ओभरमा अभिषेक कोइरालाले अमरसिंह रौटेलाको विकेट लिंदै सत्यवतीलाई खेलमा फर्काए । लगत्तै ओभरमा तृतराज दासले बसन्त कार्की र दिपक चन्दको विकेट लिए ।

जितको लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा धनगढी स्पोर्ट्स क्लबसँग १ विकेट बाँकी रहेको थियो । अन्तिम ओभर बलिंग गरेका सन्दिप खत्रीले पहिलो बलमा वाइड र दोश्रो बलमा २ रन दिएपछि तेश्रो बलमा विकास आग्रीको रुपमा धनगढी स्पोर्ट्सले अन्तिम विकेट गुमायो । सत्यवतीको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए जुन ४ ओभरमा १५ रन खर्चिए ।

तृतराज दासले २ तथा फिर्दोश अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले १र१ विकेट लिए । यसअघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनायो। सत्यवतीको ब्याटिंगमा पाँचौ नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । तृतराज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का प्रहार गरे ।

फिर्दोश अन्सारीले २२, सन्तोष कार्की र समिर कार्कीले समान १० रन बनाए । पावरप्लेमा ३ विकेट गुमाएको अवस्थाबाट चौथो विकेटको लागि सन्दिप रजाली र फिर्दोश अन्सारीले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे । आठौँ विकेटको लागि तृतराज र समिर कार्कीले अविजित ३६ रनको साझेदारी गरे । धनगढी स्पोर्ट्स क्लबको बलिंगमा दिपक चन्द, भोजराज भट्ट र भुवन कार्कीले २र२ विकेट लिए ।

विजेता सत्यवती एकेडेमीले विजेता ट्रफी सहित दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्ट्स क्लबले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगिताको उत्कृस्ट खेलाडी तथा उत्कृस्ट बलर धनगढी स्पोर्ट्स क्लबका कप्तान समेत रहेका भुवन कार्की घोषित भए । कार्कीले ५ खेलमा १२ विकेट लिए । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान शुक्लाफांटा ब्ल्याकबक्सका किरण ठगुन्ना घोषित भए जसले ३ खेलमा १३४ रन बनाए ।

प्रतियोगिताका उदयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल घोषित भए । विजेता खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले पुरस्कृत गरेका हुन्।

प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार