२४ बैशाख २०८१, सोमबार

सुदूरपश्चिममा युवालयले प्रादेशिक नीति संवाद तथा युवा महोत्सव लगाउने



धनगढी/ सुदूरपश्चिममा यहीँ जेठ १४ र १५ गते प्रादेशिक नीति संवाद तथा युवा महोत्सव हुने भएको छ। बालबालिका, किशोरकिशोरी तथा युवाका क्षेत्रमा एक दशकदेखि कार्यरत पूर्व बालक्लब सदस्यहरूद्वारा गठन गरिएको संस्था युवालयले उक्त महोत्सव आयोजना गर्न लागेको हो।

यस्तै युवालयलाई राष्ट्रिय युवा परिषद्ले सहकार्य तथा प्रदेश युवा परिषद्ले समन्वय गरेको छ। यस्तै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि सहयोग गरेका छन्।

सो महोत्सवमा युवा उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई सो क्षेत्रका विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिने जनाइएको छ।

त्यस्तै, युवाको अर्थपूर्ण सहभागितामा युवा लक्षित प्रदेशस्तरको नीति तथा कार्यक्रममा छलफल सत्र सञ्चालन गर्ने, बालविवाह अन्त्यका लागि साझा संकल्प लिने, लैङ्गिकतामा आधारित हिंसा र यौन र प्रजनन स्वास्थ्य अधिकारका बारेमा युवालाई सचेत गराउँदै युवामैत्री प्रदेश निर्माणमा उनीहरूलाई परिचालन गर्ने ध्येय यस कार्यक्रमको रहेको छ।

यसैगरी, लागुपदार्थ दूरुपयोगका कारण तथा असरकाबारेमा समेत प्रतिनिधिमुलक युवा सहभागीहरुमाझ छलफल गरिने बताइएको छ। त्यस्तै सुदूरपश्चिममा भएका प्रतिनिधिमुलक युवाहरूमाझ “राष्ट्रिय युवा नीति – २०७२” परिमार्जनका बारेमा पृष्ठपोषण सङ्कलन गर्ने योजना समेत कार्यक्रमको रहेको छ।

कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका सीमान्तकृत समूहको मूलप्रवाहिकरणका साथै सार्वजनिक शिक्षामा लगानी बारेमा चर्चा गर्ने योजना बनाइएको युवालयका अध्यक्ष सन्तोष महर्जनले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार