३ आश्विन २०८१, बिहीबार

अन्तरजातीय विवाह गरेका दम्पती सम्मानित



धनगढी/ अन्तरजातीय विवाह गरेका नमुना दम्पती सम्मानित भएकाछन् । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिद्धारा अन्तरजातीय विवाह गरेका पत्रकार धनराज विक (अविरल) र जनकलाकार एवम् नेतृ विष्ना विसी (सपना) नमुना दम्पतीको रुपमा आइ्तबार धनगढीमा सम्मानित भएका हुन् ।

नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेल र मोर्चाका केन्द्रीय संयोजक एवम् विशिष्ट अतिथि दलजीत श्रीपालीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश संयोजक विनिता ओडले अन्तरजातीय विवाह गरेर सामाजिक विद्रोह गरेका जोडीको सामाजिक योगदानको मूल्यांकन र कदर गर्दै सम्मानन गरिएको बताइन् । परिवर्तनको सुरुवात आफैबाट गरेर सामाजिक विभेद र उत्पीडनका विरुद्ध आवाज उठाउँदै निरन्तर सामाजिक कार्यमा सक्रिय रहँदै आएका विक र बिसीको जोडी सहित छ जोडीलाई सम्मान गरिएको उनले बताइन् ।

सशस्त्र द्धन्दको समयदेखि विद्यार्थी जीवनबाटै कला साहित्य,पत्रकारिता र मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका विक रुकुम, रोल्पा, प्यूठान, दाङ, सुर्खेत र कैलाली जिल्लाबाट सम्मानित भई सकेका छन् । यस्तै २०५८ सालदेखि जनयुद्धमा भूमिगत भएर अहिलेसम्म जनताको पक्षमा जनवादी गीत गाउँदै अधिकारको पक्षमा सशक्त आवाज उठाउँदै आएकी बिसीले जातीय विभेदका विरुद्ध अन्तरजातीय विवाह गरेर उदाहरणीय काम गरेकोले सम्मान गरिएको वड बताउछिन् ।

परिवर्तनका पक्षमा सामाजिक योगदान गरेवापत पत्रकार विक र जनकलाकार बिसीको जोडी समाजबाट सम्मानित हुँदै आएका छन् । असल जोडीको रुपमा स्थापित अन्तरजातीय विवाह गरेका जोडीको सही मूल्यांकन गरेर मोर्चाले सम्मान गरेकोले यसको समाजमा सकारात्मक प्रभाव पर्ने लेखक विकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार