दीपेन्द्र स्मृति डिसिए कप क्रिकेट सुरु
ऐश्वर्य र कैलाली मोडेलको विजयी सुरुवात
धनगढी/ धनगढीमा आज बिहीबारदेखि दीपेन्द्र स्मृति डिसिए कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा २० विद्यालयका टिम सहभागी रहेका छन् । प्रतियोगिता आगामी १६ गतेसम्म सञ्चालन हुने छ ।
धनगढी क्रिकेट एकेडेमीको आयोजना भइरहेको दिपेन्द्र डिसिए अन्तर स्कुल क्रिकेट प्रतियोगिताको यो चौथो संस्करण हो । प्रतियोगिता धनगढी–३ स्थित फाप्ला क्रिकेट मैदानमा भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा ऐश्वर्य विद्या निकेतन र कैलाली मोडल स्कुलले विजयी सुरुवात गरेका छन् । बिहीबार भएका खेलमा ऐश्वर्यले एरिस्टो बोर्डिङ स्कुललाई पराजित गर्यो भने कैलाली मोडेलले विद्याभूषण स्कुललाई हरायो ।
बिहीबार बिहान भएको पहिलो खेलमा ऐश्वर्यले एरिष्टो स्कुललाई ५० रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको ऐश्वर्यले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १२ रन बनायो ।
ऐश्वर्यका परागँत मुडभरीले २८ र सागर लोथ्यालले १५ रन बनाए । बलिङतर्फ एरिस्टोका निर्मल सिंह र किरण देउवाले दुई÷दुई विकेट लिए ।
प्रतिउत्तरमा एरिस्टोका ब्याट्सम्यान ऐश्वर्यको घातक तथा कसिलो बलिङसामु् टिक्न सकेनन् । फलस्वरुप एरिष्टो ६२ रनमा अलआउट भयो । एरिस्टोका पवन बोहराले ११ रन बनाए भने अन्य कोही पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
एरिष्टोमाथि ५० रनको सानदार जीत प्राप्त गर्न अहम् भूमिका निर्वाह गरेका ऐश्वर्यका पर्वत मलासीले चार विकेट लिए । उनी खेलको म्यान अफ द म्याच बने । ऐश्वर्यका सुरेन्द्र धामीले पनि २ विकेट लिएका थिए ।
बिहीबारको अर्को खेलमा कैलाली मोडेलले विद्याभूषणलाई १० विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको विद्याभूषण आठ ओभर पनि टिक्न नसकेर ३० रनमा अलआउट भयो । जवाफमा कैलाली मोडलले ३ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाएर विजय लक्ष्य हासिल गर्यो । सो खेलको म्यान अफ द म्याच कैलाली मोडलका अनिल सिंह बने ।
प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार प्लेयर अफ द टुर्नामेन्टले पाँच हजार रुपैयाँ पुरस्कार र डीसीएमा चार महिनाको छात्रवृत्तिमा क्रिकेट प्रशिक्षणको अवसर पाउने छ ।
त्यस्तै, प्रतियोगितामा वेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई तीन÷तीन हजार रुपैयाँ पुरस्कार र तीन महिनाकोे छात्रवृत्ति प्रदान गरिने छ ।
डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको केही वर्षअघि सडक दुर्घटनामा निधन भएको थियो । स्वर्गीय दिपेन्द्रको परिवारले उनको स्मृतिमा संस्था स्थापना गर्नुका साथै विभिन्न अवसरमा खेलकुद प्रतियोगिता, वृक्षारोपण, सरसफाई लगायतका सामाजिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल, सौराई स्वायरलगायतले प्रायोजन गरेका छन् ।